Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
ओपनएआई ले सोमबार जीपीटी ४.१ नामको नयाँ मोडल परिवार सार्वजनिक गरेको छ। जीपीटी ४.१, जीपीटी ४.१ मिनी र जीपीटी ४.१ नानो भन्ने मोडलहरू ल्याइएको ओपनएआईले जनाएको छ, जुन सबै कोड लेख्न र निर्देशन पालना गर्नमा “उत्कृष्ट” छन्।
यी मल्टिमोडल मोडलहरू ओपनएआई को एपीआईमार्फत उपलब्ध छन्, तर च्याटजीपीटी मा छैनन्। तिनीहरूमा १० लाख टोकनको सन्दर्भ क्षमता (context window) छ, जसको अर्थ लगभग ७.५ लाख शब्द एकैचोटि बुझ्न सक्छन् — जुन “वार एण्ड पिस” जस्तो लामो पुस्तकभन्दा पनि लामो हो।
जीपीटी ४.१ को आगमन गुगल र एन्थ्रोपिकजस्ता प्रतिस्पर्धी कम्पनीहरूले पनि उन्नत प्रोग्रामिङ मोडल निर्माण गर्ने प्रयास तीव्र बनाएका बेला भएको हो। गुगलले हालै सार्वजनिक गरेको जेमिनी २.५ प्रो मा पनि १० लाख टोकनको सन्दर्भ क्षमता छ र लोकप्रिय कोडिङ बेञ्चमार्कहरूमा उच्च स्थानमा छ।
एन्थ्रोपिकको क्लाउड ३.७ सनेट र चिनियाँ एआई स्टार्टअप डीपसिकको अपडेटेड भी३ ले पनि राम्रो प्रदर्शन गरेका छन्।
टेकक्रञ्चका अनुसार ओपनएआईलगायत थुप्रै प्रविधि कम्पनीहरूको लक्ष्य जटिल सफ्टवेयर इन्जिनियरिङ कार्यहरू गर्न सक्ने एआई कोडिङ मोडल निर्माण गर्नु हो। ओपनएआईको दीर्घकालीन महत्त्वाकांक्षा भनेको “एजेन्टिक सफ्टवयर इञ्जिनियर” बनाउनु रहेको कम्पनीकी सीएफओ साराह फ्रायरले गत महिना लण्डनमा आयोजित प्रविधि सम्मेलनमा बताएकी थिइन्।
कम्पनीले भविष्यमा आफ्नो मोडलले सम्पूर्ण एपहरू डिजाइनदेखि परीक्षण र डकुमेन्टेसन लेख्नेसम्मका कामहरू गर्न सक्ने दावी गरेको छ।
प्रकाशित: २ बैशाख २०८२, मंगलवार