अब त्रिविको ट्रान्स्क्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन बल्खु जानु नपर्ने, अनलाइन प्रणाली शुरु

Technology Khabar २ बैशाख २०८२, मंगलवार

अब त्रिविको ट्रान्स्क्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन बल्खु जानु नपर्ने, अनलाइन प्रणाली शुरु

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आज वैशाख २ गते बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरुको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएको अवगत गराउँदै आज बिहान ११ बजेबाट ट्रान्स्क्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनबाटै दिन मिल्ने सेवा शुरुवात गरेको जानकारी दिए।

कार्यालयले यसअघि नै विभिन्न सेवाका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको भए पनि केही समयअघि एक विद्यार्थीले वेबसाइट ह्याक गरिदिएपछि त्यसलाई चाहेजसरी निरन्तरता दिन सकेको छैन।

कार्यालयले एक विज्ञप्ति जारी गरी प्राविधिक समस्याहरुका बावजूद अनलाइन सेवालाई निरन्तरता दिन विश्वविद्यालय लागिपरेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेष्ठ १५ गतेदेखि त्रि.वि.प.नि.का. बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट सञ्चालन गरिनेछ। अनलाइन फाराम भर्न student.tuexam.edu.np मा लग इन गरी दिइएको निर्देशन अनुसार फाराम भरी तोकिएको शुल्क संलग्न बैंक मार्फत अनलाइनबाट भुक्तानी गरी सबमिट गर्नु पर्नेछ।’

कसरी दिने अनलाइन आवेदन?

यसको लागि प्रारम्भिक चरणमा रजिष्ट्रेशन कार्डमा उल्लेख भए बमोजिम मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा ‘करेक्शन अप्शन’ मा गई सच्याएर सबमिट गर्नुपर्नेछ|

अनलाइन वितरण गरिएका मार्कसीट बाहेक सोभन्दा पूर्व वितरण गरिएका पहेंलो सक्कल मार्कसीटमा फरक पर्न गए ‘एप्लिकेशन आईडी’ को स्लिप र पहेंलो सक्कल मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्ने हुन्छ।

परीक्षा नियन्त्रण कार्यालयले यसरी फाराम अनलाइन माध्यमबाट सबमिट गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। यसबाहेक थप सूचना चाहिएमा विस्तृत जानकारीको लागि संलग्न Student Portal Manual हेर्न समेत सूचित गरिएको छ।

Sajilo Visa

प्रकाशित: २ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार