Technology Khabar ३१ चैत्र २०८१, आईतवार
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले पुरुषको फेक फेसबुक प्रोफाइल बनाएर त्यसमार्फत् अनावश्यक सामग्रीहरु राखेर उक्त पुरुष र परिवारका सदस्यको समेत चरित्रहत्या गरेको अभियोगमा एक ३० वर्षीया महिलालाई पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६, सात धुरे दरबारमार्ग ठेगाना भई हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेकी वर्ष ३० की विन्दु परियार रहेको खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जाल मार्फत प्रेम सम्बन्धमा रहन गई विवाह गर्ने सम्मका योजना हुँदै गर्दा सम्बन्धमा दरार हुन गए पश्चात्, महिलाले पुरूषको फेसबुक प्रोफाईल नामसँग मिल्दो नाम र फोटो प्रयोग गरी फेक आईडी बनाई निज पुरूष, उसको श्रीमती लगायत नजिकका आफन्तहरुको समेत निरन्तर रूपमा चरित्र हत्या गर्ने गरेको भनी पीडित पुरूषको निवेदन प्राप्त भएको थियो।
यसबाहेक पीडितसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उक्त फेक आईडीबाट समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गरी चरित्रहत्या गर्ने गरेको भन्दै अन्य निवेदनहरू समेत ब्यूरोमा प्राप्त भएपछि प्रहरीले अध्ययन शुरु गरेको थियो।
उक्त फेक आईडी बनाई यस्ता गतिविधिमा संलग्न व्यक्ति उपर आवश्यक अनुसन्धान र पहिचान गर्ने क्रममा परियार रहेको खुलेपछि उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मिति २०८० साल पुस महिनाको ०३ गते मुद्दा दर्ता गरिएकोमा त्यतिबेला उनी फरार भएकी थिइन्।
फरार रहेकी उनको खोजतलासका क्रममा इन्टरपोल मार्फत रेड नोटिससमेत जारी भएको र वैदेशिक रोजगारीबाट फर्कने क्रममा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा मिति हिजो चैत ३० गते पक्राउ गरी अदालती कारबाहीको लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रवक्ता अवस्थीले बताए।
प्रकाशित: ३१ चैत्र २०८१, आईतवार