Technology Khabar ३० चैत्र २०८१, शनिबार
काठमाडौं ।
पावर बैंकदेखि फोन केससम्मका उत्पादनहरू बिक्री गर्दै अमेजनमा ठूला विक्रेतामध्ये एकको रूपमा चिनिने चीनको एङ्करले बिहीबारदेखि अमेरिकामा आफ्ना पाँचमध्ये एक उत्पादनको मूल्य बढाएको छ। यसले चिनियाँ सामानमा लगाइएका शुल्कहरू अमेरिकी खरिदकर्तामाथि पारिएको संकेत दिन्छ।
एङ्करका करिब १२७ उत्पादनहरूमा विगत विहीबारदेखि औसत १८ प्रतिशत मूल्यवृद्धि देखिएको छ। तीमध्ये अधिकांश मूल्यवृद्धि सोमबार, अप्रिल ७ पछि भएको हो। त्यस दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा थप ५० प्रतिशत आयात शुल्क थपेका थिए। यो जानकारी ई–कमर्स सेवाप्रदायक स्मार्टस्काउटबाट प्राप्त भएको हो।
अहिले अमेरिकी आयात शुल्क १४५ प्रतिशत पुगेको छ भने बेइजिङले शुक्रबार अमेरिकी उत्पादनमा लगाइएको शुल्क १२५ प्रतिशत पुर्याएको छ। विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चर्किंदै गएको छ।
एङ्कर र अमेजन दुवैले यसबारे टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया नदिएका रोयटर्सले उल्लेख गरेको छ।
यो कदम चीनको सबैभन्दा ठूलो क्रस-बोर्डर ई–कमर्स संघको चेतावनीपछि आएको हो। संघले अमेजनमा उत्पादन बेच्ने धेरै चिनियाँ कम्पनीहरू मूल्य बढाउने वा शुल्कका कारण अमेरिकी बजार छाड्ने तयारीमा रहेको बताएको थियो।
“यो कुनै पनि ब्रान्डमा मैले अहिलेसम्म देखेको सबैभन्दा ठोस मूल्यवृद्धिको प्रयास हो,” स्मार्टस्काउटका संस्थापक स्कट निडहमले भने।
५ हजार हाराहारी कर्मचारी र वार्षिक आम्दानी २२.१७ अर्ब युआन (३ अर्ब डलर) भएको भएका एङ्कर सन् २०११ मा पूर्व गुगल सफ्टवेयर इन्जिनियरद्वारा स्थापना भएयता अमेजनमा एक प्रमुख बिक्रेताका रूपमा उभिएको छ।
सोमबार लगानीकर्तासँगको टेलिफोन कुराकानीमा भएका एङ्करले मूल्य बढाउने क्षमता रहेको बतायो। उसँग बार्गेनिङ शक्ति रहेको र प्रतिस्पर्धीहरू पनि प्रायः चिनियाँ भएकाले उस्तै शुल्क दबाबमा छन्। यद्यपि उसले विस्तृत जानकारी दिएको छैन।
कम्पनीले अमेरिकीबाहेक युरोप र दक्षिणपूर्वी एसियाजस्ता बजारहरूमा पनि सम्भावना खोज्ने बताएको छ।
प्रकाशित: ३० चैत्र २०८१, शनिबार