Technology Khabar ७ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण गर्न, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न सामाजिक सञ्जाल सञ्चालकहरुलाई ३० दिने अल्टिमेटम दिएको छ।
मन्त्रालयले आज एक सूचना प्रकाशित गरी हालसम्म नियमानुसार दर्ता वा सूचीकरण भइसकेका ३ सामाजिक सञ्जालको नाम अवगत गराउँदै नेपालमा चलिरहेका तर नियमानुसार सूचीकरण नभएका सबै सामाजिक सञ्जालहरुलाई नियमबमोजिम ३० दिनभित्र सूचीकरण आह्वान गरेको हो।
मन्त्रालयले उल्लिखित व्यक्ति कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको अवगत गराउँदै हालसम्म उल्लिखित कानूनी व्यवस्था अनुसार भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रा.लि. को नाममा वीटक मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेको जानकारी दिएको छ।
‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखित बाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०५० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी गराइएको छ।
यस हिसाबले हेर्दा मन्त्रालयले हालसम्म विभिन्न तर्कसहित सूचीकरणबिना निर्बाध चलिरहेका सामाजिक सञ्जालले नेपालमा ३० दिनभित्र नियमानुसार सूचीकरण लगायतका काम नगरेमा उक्त सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन पनि सक्नेछ।
“सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” (नेपाली र अङ्ग्रेजी माध्यम) मन्त्रालयको वेबसाइट (https://mocit.gov.np) मा राखिएको छ।
प्रकाशित: ७ चैत्र २०८१, बिहीबार