Technology Khabar ७ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
एप्पलको पहिलो फोल्डेबल आईफोन धेरै महँगो हुने भएको छ। फोल्डेबल डिभाइसहरू सामान्यतया स्ल्याब–शैलीका ह्यान्डसेटहरू भन्दा धेरै महँगो हुने गर्दछन् भन्ने कुरालाई ध्यानमा राख्दै एप्पलको फोल्डेबलको मूल्य पनि धेरै महँगो हुनेछ भन्ने कुरामा अचम्म मान्नु नपर्ने बताइएको छ। त्यसैले यो कुनै आश्चर्यको कुरा नभएको उल्लेख गरिएको छ।
विश्लेषक टिम लङले बार्कलेज बैंकसँगको एक नोटमा फोल्डेबल आईफोनलाई अमेरिकामा २,३०० अमेरिकी डलरको मूल्य दायरामा राखेका छन्। यो सगैँ यसको मूल्य आईफोन १६ प्रो म्याक्सको भन्दा लगभग दोब्बर महँगो हुने उल्लेख गरिएको छ। आईफोन १६ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलरबाट सुरु हुन्छ।
लङको टोलीले एशियाको यात्रामा आपूर्तिकर्ताहरूसँग भेट गरेपछि यो संख्या साझा गरिएको उल्लेख छ। एप्पलको पहिलो फोल्डेबल आईफोन लन्च सन् २०२६ को अन्त्यदेखि २०२७ को सुरुतिर हुने बढी सम्भावनाको रहेको उल्लेख गरिएको छ। त्यसैगरी मूल्यले स्पष्ट रुपमा बिक्रीको मात्रा सीमित गर्नेछ भनि लङले विश्वास व्यक्त गरेका छन्।
यस महिनाको सुरुमा, प्रसिद्ध एप्पल आपूर्ति श्रृंखला विश्लेषक मिङ्ग–ची कुओले फोल्डेबलको मूल्य २,००० देखि २,५०० अमेरिकी डलरसम्म हुने बताएका थिए। कुओका अनुसार, यो डिभाइसमा ७.८ इन्चको फोल्डेबल स्क्रिन, ५.५ इन्चको कभर डिस्प्ले, दुई रियर क्यामरा, टच आईडी पावर बटन र हाई–डेनसिटी ब्याट्रीको साथ आउने उल्लेख गरिएको छ।
उनले यो फोल्डेबल डिभाइस खुला हुँदा लगभग ४.५ मिमी पातलो र फोल्ड गर्दा ९ मिमी देखि ९.५ मिमी बीच हुने अपेक्षा गरेका छन्। यसमा टाइटेनियम र स्टेनलेस स्टीलको मिश्रण प्रयोग गरेर हिन्ज भएको टाइटेनियम फ्रेम हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ चैत्र २०८१, बिहीबार