Technology Khabar २७ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
सवारी चालक अनुमतिपत्र कुनै पनि दर्ता भएका दुई वा चारपाङ्रे सवारीसाधन चलाउनका लागि आवश्यक कागजात हो। तोकिए बमोजिम लिखित र ट्रायल परीक्षा पास गरेपछि यातायात व्यवस्था विभागबाट लाइसेन्स लिन सकिन्छ।
हालसम्म एकपटक लिएको लाइसेन्सको म्याद ५ वर्ष रहँदै आएको छ। केही वर्षअघि लाइसेन्सको दस्तुर दोब्बर बनाउने र समयसीमा पनि ५ बाट बढाएर १० वर्ष बनाउने कुरा चलेको थियो। दस्तुर दोब्बर बनाइयो तर लाइसेन्सको समयावधि ५ वर्ष नै कामय गरियो।
तर हालै सरकारले हालै जारी गरेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ मा चालक अनुमतिपत्र अर्थात् लाइसेन्स सम्बन्धमा विभिन्न नयाँ प्रस्तावहरु समावेश गरिएको छ जसमध्ये एउटा समयावधि १० वर्ष बनाउने पनि हो।
चालक अनुमति पत्रको अवधि, नवीकरण तथा प्रतिलिपि भन्ने बुँदामा यो प्रावधान समावेश गरिएको हो।
‘(१) दफा १५ बमोजिम जारी भएको चालक अनुमतिपत्रको अवधि जारी भएको मितिले दश वर्षसम्म हुनेछ’, प्रस्तावमा उल्लेख छ। प्रस्तवमा उल्लेख भए अनुसार यसरी जारी गरिएको चालक अनुमतिपत्र प्रत्येक दश वर्षमा नवीकरण गर्नुपर्नेछ।
चालक अनुमतिपत्रमा लेखिएको म्याद नाघेको मितिले नब्बे दिनभित्र त्यस्तो चालक अनुमतिपत्र नवीकरण गराई सक्नुपर्नेछ।
कुनै पनि व्यक्तिले तोकिएको म्यादभित्र चालक अनुमतिपत्र नवीकरण गराउनको लागि दस्तुर र मान्यता प्राप्त चिकित्सकले दिएको निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने प्रावधान यथावत रहेको छ।
यसो नगरे के हुन्छ?
तोकिएको अवधिमा चालक अनुमतिपत्र नवीकरण नगराउने चालकले नवीकरण दस्तुर र सोको देहाय बमोजिमको जरिवाना बुझाई अनुमतिपत्र नवीकरण गराउन सक्नेछन्। यसका लागि म्याद नाघेको विभिन्न समयका आधारमा जरिबाना छुट्याइएको छ। जरिबाना यस प्रकार छ:
यस हिसाबले एउटा व्यक्तिले लाइसेन्स नवीकरणका लागि १५०० रुपैयाँ बुझाउनु पर्ने छ भने म्याद सकिएको ९० दिनभित्र बुझाएमा १५०० रुपैयाँ नै लाग्छ। यसमा जरिवाना लाग्दैन।
तर उक्त व्यक्तिले ९० दिनपछि एक वर्षभित्र नवीरकण गर्न गएमा १०० प्रतिशत जरिबाना जोडिनेछ। यसको मतलब उसले १५०० मा १५०० जरिबाना गरी ३००० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
दुई वर्षभित्र तिर्दा १५०० मा १५० प्रतिशत अर्थात् २१५० गरी ३६५० तिर्नुपर्ने हुन्छ।
दुई वर्ष कटेर तीन वर्षभित्र बुझाएमा साविक दस्तुर १५०० मा २०० प्रतिशत अर्थात् ३००० जरिबाना जोडिएर ४५०० रुपैयाँ तिर्नुपर्छ।
तीन वर्षसम्म पनि नवीकरण नगरी ४ वर्षभित्र गरेमा साविकको १५०० मा ३७५० जरिबाना जोडिएर ५२५० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
र यो अवधि नाघेको अवस्थामा पाँच वर्षभित्र नवीकरण गराउँदा साविकको १५०० रुपैयाँमा ३०० प्रतिशत जरिबाना अर्थात् ४५०० जोडिएर ६००० रुपैयाँ तिर्नुपर्छ।
माथिको उदाहरण काल्पनिक रकमलाई लिएर बनाइएको हो। लाइसेन्सको दस्तुर समूह वा क्याटेगरी अनुसार फरक फरक हुन्छ। त्यसैले आफ्नो समूहको दस्तुर कति तोकिएको छ सोही अनुसार हिसाब निकाल्न सकिन्छ।
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार