Technology Khabar २५ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कास्कीमा क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा खेलाउने घटनामा व्यक्ति समातिएको पहिलो हो। नेपाल प्रहरी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्वतको जलजला स्थायी घर भई हाल पोखरा अनुपम टोल बस्ने वर्ष ३१ का रुपेन्द्र जिसी, म्याग्दीको बेनी घर भई पोखरा हबेलीमार्ग बस्ने ३३ वर्षीय विक्रम बानिया, सोही ठाउँ स्थायी घर भई अनुपम मार्ग बस्ने २२ वर्षीय सञ्जन घिमिरे, म्याग्दीको रघुङ्गा घर भई पोखरा अनुपम मार्ग बस्ने १९ वर्षीय रोजन केसी र सोही ठाउँ स्थायी घर भएर पोखरा चाउथे बस्ने २८ वर्षीय सन्दीप कटवाल छन्।
उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा अनुसन्धान अगाडि बढेको एसपी ओलियाले बताए। ओलियाका अनुसार अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको छ।
क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा/सट्टाबाजीमा प्रयोग गरिएको भनिएका विभिन्न इलेक्ट्रोनिक डिभाइस प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेको ५ जना नातेदार हुन् भने उनीहरूले ३० करोडसम्मको कारोबार गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले कम्प्युटर, मोबाइल, ल्यापटप, पेनड्राइभ, आइप्याड लगायतका डिभाइस पक्राउ गरेको हो।
प्रहरीका अनुसार १० वर्षदेखि अमेरिकामा बस्दै आएका आइटी इन्जियिनर रुपेन्द्र जिसी केही समय अघि नेपाल आएको र उनकै योजनामा अनलाइनबाट जुवा खेलाउने गरिएको हो। तीन सिफ्टमा अनलाइन मार्फत जुवा खेलाउने गरिएको अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले जानकारी दिएको हो।
क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा/सट्टाबाजीमा प्रयोग गरिएका विभिन्न इलेक्ट्रोनिक डिभाइसको अनुसन्धान गर्न बाँकी रहेको र अनुसन्धानपछि थप प्रमाण फेला पर्ने प्रहरीको विश्वास छ।
प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार