Technology Khabar २२ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर आर्थिक लाभ लिने एकजना पक्राऊ परेका छन्।
पक्राऊ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा. वडा नं. ५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले बताएका छन्।
पक्राऊ परेका खकुरालले वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको पहिचान गरी प्रोफाईल भिजिट गर्नुको साथै उनीहरुको आफन्तहरुको समेत विवरण राखी नक्कली फेसबुक आईडी बनाएर उक्त फेक आईडीमा विदेशमा रहेका व्यक्तिहरुकै फोटो अपलोड गरी उक्त आईडीबाट आफन्तहरुसँग म्यासेन्जरमा टेक्स्ट गरेर आफू र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेको भन्दै रकम माग गरेको प्रहरीले जनाएको छ।
उनले ‘मेरो साथीको क्यूआरमा रकम पठाउनु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गरी उपत्यकाको विभिन्न पसलहरुमा गई आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाइदिँदै छ, मेरो कुनै पनी बैंक खाता छैन, हजुरको खातामा पैसा आउँछ सो पैसा राखी मलाई नगद रकम दिनु भनी उक्त पसलहरुको क्यूआर कोड पठाई उक्त क्यूआरमा रकम हाल्न लगाई पसलहरुबाट नगदै रकम लिई ठगी गर्दै हिड्ने गरेको खुल्न आएको’ बताइएको छ।
उनलाई प्रहरीले फागुन २० जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका ५ लोलाङ हाईटबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि फागुन २१ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा पठाइएको प्रहरीले जनाएको छ।
उनको साथबाट ओपो कम्पनीको निलो रङको मोबाइल १ थान तथा बा ५८ प २७७५ नम्बरको कालो रङ्गको १५० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद भएको छ।
प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार