Technology Khabar २२ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकी अदालतले मंगलबार अर्बपति उद्यमी इलन मस्कले च्याटजीपीटी निर्माता ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत हुनबाट रोक्न खोजेको प्रारम्भिक आदेश अस्वीकार गरेको छ।
ओकल्यान्ड, क्यालिफोर्नियाका अमेरिकी जिल्ला न्यायाधीश इभोन गोन्जालेज रोजर्सले मस्कले प्रारम्भिक आदेशका लागि आवश्यक ‘उच्च प्रमाणको भार’ पूरा गर्न नसकेको बताएकी छन्। तर, रोजर्सले यस मुद्दामा यसै वर्ष छिटो सुनुवाइ गर्न आफू तयार रहेको बताइन्।
मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफले न्यायाधीशले यस मुद्दाका ‘महत्वपूर्ण’ विषयहरूमा छिटो सुनुवाइको अवसर प्रदान गरेकोमा सन्तुष्टि व्यक्त गरे। उनले भने, “जूरीले ओपनएआईका सीईओ साम आल्टम्यानले मस्कका परोपकारी सहयोगहरू जनताको हितका लागि प्रयोग गर्नुपर्ने थाहा हुँदाहुँदै आफ्नो फाइदाका लागि उपयोग गरेको पुष्टि गर्ने कुरामा हामी उत्साहित छौँ।”
रोयटर्सका अनुसार ओपनएआई नाफारहित संस्थाबाट नाफामुखी कम्पनीमा रूपान्तरण हुने प्रयास गरिरहेको छ, जसलाई उसले उत्कृष्ट कृत्रिम बुद्धिमता मोडेल विकास गर्न आवश्यक लगानी जुटाउन जरुरी भएको बताएको छ। ओपनएआईले अदालतको निर्णयलाई स्वागत गर्ने बयान दिएको छ।
ओपनएआईको लगानीकर्ता माइक्रोसफ्टले रोयटर्सको टिप्पणी अनुरोधमा कुनै प्रतिक्रिया दिएको छैन।
मस्कले गत वर्ष ओपनएआई र आल्टम्यानविरुद्ध मुद्दा दायर गरेका थिए। उनले ओपनएआईका संस्थापकहरूले सुरुमा मानवहितका लागि कृत्रिम बुद्धिमत्ता विकास गर्ने उद्देश्यले आफूलाई नाफारहित संस्थाको लागि लगानी गर्न आग्रह गरेको तर अहिले कम्पनी नाफा कमाउने उद्देश्यमा केन्द्रित भएको आरोप लगाएका थिए।
पछि उनले संघीय प्रतिस्पर्धा विरोधी कानूनलगायतका दाबी थप्दै ओपनएआईको नाफामुखी रूपान्तरण रोक्न डिसेम्बरमा अदालतमा अनुरोध गरेका थिए।
मस्कले २०१५ मा आल्टम्यानसँगै ओपनएआईको स्थापना गरेका थिए, तर कम्पनी अघि बढ्नुअघि नै बाहिरिएका थिए। त्यसपछि उनले २०२३ मा प्रतिस्पर्धी एआई स्टार्टअप एक्सएआई स्थापना गरेका थिए।
प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार