काउन्टडाउनकै बेला रकेटमा समस्या आएपछि अर्को स्टारशिप मेगारकेट प्रक्षेपण स्थगित

Technology Khabar २० फाल्गुन २०८१, मंगलवार

काउन्टडाउनकै बेला रकेटमा समस्या आएपछि अर्को स्टारशिप मेगारकेट प्रक्षेपण स्थगित
Global IME Bank

काठमाडौं ।

स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट स्टारशिपको आठौं परीक्षण उडान दक्षिण टेक्सासको स्टारबेसबाट सोमबार (मार्च ३) साँझ प्रक्षेपण गर्ने लक्ष्य राखेको थियो।

तर, त्यो सम्भव भएन। कम्पनीले रकेटका दुई मुख्य भाग— सुपर हेभी बुस्टर र शिप अपर स्टेज— दुबैमा समस्या देखिएपछि प्रक्षेपणको काउन्टडाउन T-40 सेकेन्डमा रोक्दै मिशन स्थगित गर्यो।

स्पेसएक्सले लाइभ वेबकास्टमा समस्याबारे कुनै विस्तृत विवरण दिएन, र कम्पनीले पुनः प्रक्षेपण गर्ने मिति पनि तत्कालै स्पष्ट गरेन।

“आजको परीक्षण उडानबाट पछि हट्दैछौं। स्टारशिप टोलीले उडानका लागि अर्को उपयुक्त अवसर निर्धारण गर्दैछ,” स्पेसएक्स ले कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेखेको स्पेस डटकमले उल्लेख गरेको छ।

स्पेसएक्सका प्रतिनिधिहरूका अनुसार अर्को प्रयास चाँडै मंगलबार (मार्च ४) हुनसक्छ, तर त्यसभन्दा ढिलो पनि हुन सक्छ। “हामी कम्तीमा २४ घण्टा लाग्ने अपेक्षा गर्दैछौं, तर यसबारे सबैलाई जानकारी गराउनेछौं,” स्पेसएक्सका प्रवक्ता ड्यान हुटले लाइभ वेबकास्टमा भने।

स्टारशिप फ्लाइट ८ प्रक्षेपण भएपछि यसलाई स्पेस डटकममा स्पेसएक्सको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ।

स्पेसएक्सले चन्द्रमा र मङ्गल ग्रहमा मानव बसोबासको लक्ष्यसहित पूर्ण रूपमा पुनः प्रयोगयोग्य स्टारशिप विकास गरिरहेको छ। विशाल रकेटको पहिलो प्रक्षेपण अप्रिल २०२३ मा भएको थियो र हालसम्म यसले सात परीक्षण उडान पूरा गरिसकेको छ।

स्टारशिपको पछिल्लो मिशन जनवरी १६ मा सम्पन्न भएको थियो, जसमा केही सफलतासँगै केही असफलता पनि भए। उदाहरणका लागि, स्पेसएक्स ले सुपर हेभीलाई स्टारबेसको प्रक्षेपण टावरका “चपस्टिक” हातद्वारा सुरक्षित रूपमा फिर्ता ल्याउन सफल भयो, तर शिप उडानको १० मिनेटभन्दा कम समयमा प्रोपेल्यान्ट चुहावटका कारण नष्ट भयो।

शिप अन्ततः एटलान्टिक महासागरमा विस्फोट भएको थियो, जसले टर्क्स र केकोस टापु तथा वरपरका क्षेत्रमा अविश्वसनीय आकाशीय दृश्य प्रदान गर्‍यो।

फ्लाइट ७ मा शिपले डमी स्टारलिंक उपग्रहहरू परिनियोजन गर्ने लक्ष्य राखेको थियो, जुन स्पेसएक्स ले फ्लाइट ८ मा पुनः प्रयास गर्नेछ। यो मिशनका उद्देश्यहरू फ्लाइट ७ जस्तै छन्।

सबै योजना अनुसार अघि बढेमा, सुपर हेभी पुनः प्रक्षेपण टावरको हातमा सुरक्षित रूपमा अवतरण गर्नेछ, जबकि शिपले पृथ्वीको वरिपरि धेरै यात्रा गरेर पश्चिमी अस्ट्रेलियाको तट नजिक भारतीय महासागरमा सफ्ट स्प्ल्याशडाउन गर्नेछ।

Sajilo Visa

प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया