क्यान महासंघका कोषाध्यक्षलाई सोधिएको स्पष्टिकरण बारे अध्यक्ष परिषदको बैठक बस्दै, सञ्चारमन्त्रीका सल्लाहकार पनि विवादमा

Technology Khabar २० फाल्गुन २०८१, मंगलवार

क्यान महासंघका कोषाध्यक्षलाई सोधिएको स्पष्टिकरण बारे अध्यक्ष परिषदको बैठक बस्दै, सञ्चारमन्त्रीका सल्लाहकार पनि विवादमा
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।
Global IME Bank

काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले कोषाध्यक्ष विक्रम सिंहलाई कारबाही गर्ने उद्देश्यका साथ लिखित स्पष्टिकरण माग गरेको समाचार सार्वजनिक भएसँगै संस्थाको प्रेसिडेन्सियल काउन्सिल (अध्यक्ष परिषद) को बैठक बस्ने भएको छ।

क्यान महासंघ अध्यक्ष घिमिरेले फागुन १५ गते बिहिबार क्यान महासंघका कोषाध्यक्षलाई ३६ घण्टे लिखित स्पष्टिकरण पेश आदेश दिएसँगै संस्थाभित्र विवाद चुलिएको छ।

अध्यक्षले कोषाध्यक्षलाई सोधेको स्पष्टिकरण पत्रमा शुक्रबार र शनिबार हेटौंडाको रिगल हेटौंडा सिसोर्टमा आयोजना भईरहेको महासंघको Strategic Planning Meeting & Installation Program को बारेमा केन्द्रीय कार्य समितिको निर्णय विरुद्ध अध्यक्षलाई नै प्रतिप्रश्न गरी आफ्नो पदीय मर्यादा, जिम्मेवारी, दायित्व बिर्सेको आरोप लगाईएको छ।

कोषाध्यक्ष सिंहलाई सो कार्यक्रमको खर्च व्यवस्थापनको जिम्मा नलिएको, अध्यक्षको निर्देशनको अवज्ञा गरेको कार्य समितिको बैठकको निर्णय कार्यान्वयन नगरेको, पदभार सहितको प्रमाणपत्र प्रदान गर्ने लगायतको पदस्थापन खर्चको लागि पेश्की वापत रकम भुक्तानी नदिएको जस्ता ४ बुँदे आरोपसमेत लगाईएको छ।

स्पष्टिकरण पत्रको जवाफ चित्त नबुझेमा विधान अनुसार थप कारबाही गर्ने चेतावनी अध्यक्ष घिमिरेले दिएकी थिईन्।

सम्बन्धित समाचार-

आफ्नो भुक्तानी नदिएको भन्दै क्यान महासंघका कोषाध्यक्षलाई अध्यक्षको स्पष्टिकरण पत्र, विवादका बिच रणनीतिक बैठक

उक्त स्पष्टिकरण पत्रको जवाफ कोषाध्यक्ष सिंहले त्यसको भोलीपल्ट अर्थात २०८१ फागुन १६ गते नै पठाएको क्यान महासंघ स्रोतले जानकारी दिएको छ।

अध्यक्षलाई सम्बोधन गरेर पठाएको लिखित स्पष्टिकरणमा, कोषाध्यक्ष सिंहले उक्त स्पष्टिकरण संस्थाको विधान विपरित भएको, मर्यादा नाघेर र नियम भन्दा बाहिर गएर सोधिएको, र कुन आधारमा आफूलाई स्पष्टिकरण सोधिएको हो भनेर प्रतिप्रश्न गरेका छन्।

उनले आफू केन्द्रीय कार्य समितिको निर्णयको बारेमा जानकार उपस्थित र जानकार रहेको भन्दै  बैठकमा अधिकांश पदाधिकारी तथा सदस्यहरूले तोकिएको समयमा उपस्थित हुन नसकने जानकारी गराइसकेको अवस्थामा, कार्यक्रमको मिति पुनः निर्धारण गर्न आवश्यक रहेको विषयमा समेत छलफल भएको उल्लेख छ। तर अध्यक्षले यस बारेमा, एकतर्फी रूपमा, संस्थागत परामर्शबिना, निर्देशनात्मक शैलीमा निर्णय लिँदा संस्थाको मूल भावना र परिपाटी अनुरूप नभएको लेखिएको छ।

यसका साथै रणनीतिक योजना बैठकमा कोषाध्यक्ष आफैं उपस्थित हुन नसक्ने स्पष्ट जानकारी गराएको समेत स्मरण गराएका छन्।

यसैगरी कोष व्यवस्थापन र निर्देशनको पालना सम्बन्धमा महासंघको रणनीतिक योजना तथा पदस्थापन कार्यक्रममा लागि आवश्यक बजेट व्यवस्थापन तथा यसको प्रभावकारी वित्तीय योजना निर्माण नगरीकन खर्च स्वीकृत गर्नु उपयुक्त नहुने भन्दै, सो सम्बन्धमा थप स्पष्ट योजना माग्नुपर्ने आवश्यकता देखिएको पत्रमा भनिएको छ।

यसका साथै पदस्थापन कार्यक्रमको खर्चका लागि कुनै अग्रिम भुक्तानी माग नभएको जिकिर गरिएको छ।

“जहाँसम्म मलाई लिखित स्पष्टिकरण माग गरिएको छ, अध्यक्षज्यूले विधानको मर्मअनुसार कार्य नगरी, मनोमानी रूपमा पत्र पठाउनु उचित नभएको ठान्दछु। क्यान महासंघको अध्यक्षजस्तो गरिमामय पदमा रहनुभएका व्यक्तिबाट विधान विपरीत र अन्यायपूर्ण रूपमा स्पष्टिकरण मागिनु स्वयं संस्थाको मर्यादा विपरीत हो,” कोषाध्यक्षले पेश गरेको लिखित स्पष्टिकरण पत्रमा भनिएको छ, “क्यान महासंघको विधान अनुसार कुनै पनि पदाधिकारी वा सदस्यलाई स्पष्टिकरण सोध्ने तथा कारबाही गर्ने प्रक्रियासम्बन्धी व्यवस्था परिच्छेद ९ को दफा ३७ र ३८ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ। सो प्रक्रिया अनुरूप नै कुनै पनि कारबाही तथा निर्णय लिनुपर्ने हुन्छ।”

कोषाध्यक्ष सिंहले आफ्नो उद्देश्य संस्था तथा कार्यसमितिको निर्णय कार्यान्वयन नगर्ने नभई, सो कार्यान्वयन गर्दा वित्तीय अनुशासन, पारदर्शिता, तथा व्यवस्थापनलाई प्राथमिकता दिनु रहेको स्पष्ट पारेका छन्।

अध्यक्षको कम्पनीको बिल फिर्ता

यसैबीच अध्यक्ष घिमिरेले आफ्नो संस्थाको नाममा आएको बिलको भुक्तानीका लागि पेश गरेको बिल फिर्ता लिएको महासंघ स्रोतले जानकारी दिएको छ।

यसअघि अध्यक्षले आफ्नो कम्पनीको नाममा आएको खर्च क्यान महासंघमार्फत भुक्तानीका लागि दबाब दिएको टेक्नोलोजीखबरले खुलासा गरेको थियो। तर कोषाध्यक्ष सिंहले उक्त भुक्तानी नगर्ने अडान लिएका थिए। सोही कारण दुबै बिच विवाद भएको र अहिले रणनीतिक योजना कार्यक्रम आयोजनाको समय पारेर कारबाही गर्न खोजिएको स्रोतको दाबी छ।

अध्यक्ष परिषदको बैठक बस्दै

अध्यक्षले सोधेको स्पष्टिकरण र कोषाध्यक्षले बुझाएको लिखित स्पष्टिकरणको बारेमा अध्यक्ष परिषदमा छलफल हुने स्रोतले जानकारी दिएको छ।

यसै विषयमा छलफल गर्नेगरी क्यान महासंघको प्रेसिडेन्सियल काउन्सिलको बैठक मंगलबार बस्ने भएको छ। संस्थाका पूर्व अध्यक्षहरु रहने उक्त प्रेसिडेन्सियल काउन्सिलमा वर्तमान अध्यक्ष सदस्य सचिवको रुपमा रहन्छन्।

” भोलीनै अध्यक्ष परिषदको बैठक बस्दैछ। त्यसमा यो विषयमा गंभिर रुपले छलफल हुनेछ,” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

सञ्चार मन्त्रीका सल्लाहकार पनि विवादमा

क्यान महासंघ अध्यक्ष घिमिरेले हेटौंडामा आयोजित रणनितिक योजना बैठकमा बहुमत कोरम नहुने देखिपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका आईटी विज्ञ तथा सल्लाहकार डा. शालिग्राम पराजुलीलाई सदस्यमा मनोनित गरेकी छन्।

अध्यक्ष घिमिरेले बैठकमा निर्णय गर्न बहुमत नपुग्ने भएपछि पहिले हेटौंडाका श्यामकल श्रेष्ठलाई कार्यसमिति सदस्य मनोनित गरेकी थिईन् भने त्यसपछि सञ्चार मन्त्रीका सल्लाहकारलाई समेत कार्यसमिति सदस्यको रुपमा मनोनित गरिएको स्रोतले जानकारी दिएको छ।

सञ्चार मन्त्रालयका सल्लाहकार डा. पराजुली नेपाल टेलिकमको उच्च पदमा रहँदै सञ्चार मन्त्रालयमा हाल काजमा खटिएका छन्। सञ्चार मन्त्रीका सल्लाहकार भएको कारणनै उनलाई क्यान महासंघको सदस्य मनोनित गरिएको स्रोतको दाबी छ।

“उनलाई मनोनित गर्दा सञ्चार मन्त्रालय र मन्त्रीसँगको पहुँचमा सहजता हुने देखिएपछि मनोनित गरिएको हो। उनी सो बैठकमा उपस्थित नभएको हुँदा निर्णय सार्वजनिक गरिएको छैन्,” स्रोतले भन्यो।

यसले गर्दा, आगामी दिनमा, सञ्चार मन्त्रीसँग क्यान महासंघले गर्ने बैठक वा भेटघाटमा सल्लाहकार कुन पदको रुपमा सहभागी होलान भन्ने प्रश्न उब्जिएको छ।

“सञ्चार मन्त्रीको सल्लाहकार भनेको सम्मानित पद वा जिम्मेबारी हो। क्यानको कार्यसमिति सदस्य भएपछि उनी कुन हैसियतमा आगामी छलफलहरुमा सहभागी हुन्छन्। यसले पदिय मर्यादा समेत उलंघन हुने संभावना रहन्छ,” अर्को स्रोतको दाबी छ।

अर्कोतर्फ, डा. पराजुली र श्रेष्ठलाई मनोनित गरिएको बैठकमा कोरमनै नपुगेपछि अन्य विषयमा निर्णय हुन सकेको थिएन्।

सल्लाहकार डा. पराजुली केहि दिन अघि मात्र ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल) को अध्यक्ष पदमा निर्वाचित भएका छ्न्। उक्त पदमा निर्वाचित हुँदा पनि यस्तै विवाद हुनसक्ने औंल्याईएको छ।

सम्बन्धित समाचार-

डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन, यस्ता छन् कार्ययोजना

स्मरण रहोस्, सल्लाहकार डा. पराजुली यसअघि सरकारी टेल्को नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी)का समेत आकांक्षी थिए। उनले एमडीको लागि आवेदन माग गरिएकोमा त्यसबेला दरखास्त हालेका थिए।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको दरखास्त स्वीकृत

अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष पोदार एक ढिक्का

पछिल्लो समय क्यान महासंघमा विवाद र मतभेद चुलिँदै गएपछि, अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष रणजीत (रन्जीत) पोदार एक टिम भएका बताईएको छ।

“रन्जीतजी अध्यक्ष हुँदाको समयमा आयोजना गरिएको क्यान इन्फोटेकमा लागेको भन्दा करिब आधा खर्चमा यस पटक क्यान इन्फोटेक सम्पन्न भयो। उनको कार्यकालमा, त्यसबेला आर्थिक हिनामिना भएको त हैन भन्ने शंका उब्जिएको छ,” स्रोतले दाबी गरेको छ, “त्यसैले उनीहरु दुबैले मिलेर अहिले विभिन्न विषयहरुमा निर्णय गर्ने गरेका छन्।”

उता, निवर्तमान अध्यक्ष पोदार नजिकको स्रोतले वर्तमान अध्यक्ष घिमिरेसँग उनको समेत मतभेद रहेको जिकिर गरेको छ।

Sajilo Visa

प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया