Technology Khabar २० फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
-साजन सुवेदी
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले एकै दिन र एकै समयमा स्वदेश र विदेशका समान प्रकृतिका कम्पनीहरुमा जिम्मेवार पदमा जागिर खाएको भेटिएको छ।
हाल आफैं अध्यक्षका रुपमा कार्यरत नियामक निकाय अन्तर्गत पर्ने निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेड (तत्कालीन स्पाइस नेपाल, मेरो मोबाइल) मा डेपुटी चिफ फाइनान्स अफिसरका रुपमा काम गर्दै गरेको समयमा भण्डारीले राजीनामा नै नदिई अर्को विदेशी कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा नियुक्ति लिएको भेटिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतबाट टेक्नोलोजी खबरलाई प्राप्त दस्तावेज अनुसार भण्डारीले तत्कालीन स्पाइस नेपाल (हालको एनसेल आजियाटा लिमिटेड) मा कार्यरत पदबाट राजीनामा दिनुभन्दा २० दिन अगाडि नै विदेशी कम्पनीको उच्च कार्यकारी पदमा नियुक्ति लिएको देखिन्छ।
यसको अर्थ, प्राधिकरणका अध्यक्ष भण्डारीले एकै दिन र एकै समयमा स्वदेश र विदेशका कम्पनीहरुमा निरन्तर जिम्मेवार पदमा रहेर जागिर खाएका कागजातहरुमा देखिन्छ।
उनले प्राधिकरणमा अध्यक्ष पदका लागि आवेदन दिँदा बुझाएका दस्तावेजहरुका अनुसार, त्यसबेला राजीनामा दिएको संस्था एनसेल (तत्कालीन स्पाइस नेपाल, मेरो मोबाइल) र नयाँ नियुक्ति दिनेमा अफ्रिकी महादेशमा रहेको बुरुण्डीको राजधानी बुजुम्बुरामा मुख्यालय रहेको लासेल एसयू रहेका छन्।
लासेल बुरुण्डीमा रहेको वायरलेस टेलिफोन अपरेटर हो जसको व्यापारिक नाम परिवर्तन भएर “स्मार्ट टेलिकम” बुरुण्डी रहेको देखिन्छ। यो संस्था सन् २०२२ मा सरकारी बाँकी बक्यौता तिर्न नसकेका कारण बन्द भएको थियो।
भण्डारीले स्पाइस नेपालमा सन् २००७ जुन १० तारिखदेखि २००८ जनवरी २० सम्म सालाखाला ७ महिना १० दिन काम गरेको एनसेल आजियाटाले सन् २०१७ जुन १ तारिखमा दिएको अनुभव पत्रमा उल्लेख छ।
तर बुरुण्डीको लासेलले २०१६ को सेप्टेम्बर १४ मा दिएको, उनको राजीनामा स्वीकृत गरिएको पत्रमा उनले ‘लासेल एसयू (टी/ए स्मार्ट)’ मा सन् २००८ जनवरी १ तारिखबाट सन् २०१६ जनवरी ११ तारिखसम्म सीईओको भूमिकामा काम गरेको’ उल्लेख छ।
स्पाइस नेपाल र लासेलका आधिकारिक पत्रहरु तुलना गर्दा अध्यक्ष भण्डारीले २००८ को जनवरी १ तारिखमै बुरुण्डीमा लासेलको कार्यकारी अधिकारयुक्त पदमा नियुक्ति लिएको तर त्यतिबेला उनी नेपालमा सञ्चालनमा रहेको टेलिकम कम्पनी स्पाइस नेपालमै ‘बहालवाला’ रहेको देखिन्छ।
यस हिसाबले उनी जनवरी १ देखि जनवरी १९, २००८ को १९ दिन स्पाइस नेपालमा डेपुटी चिफ फाइनान्स अफिसर र लासेल एसयू बुरुण्डीमा सीईओका रुपमा समानान्तर रुपमा एकै पटक काम गरेको दस्तावेजले देखाउँछ।
हाल दूरसञ्चार क्षेत्रमा रहेका सबै सेवा प्रदायकहरुलाई नियमन गर्ने पदमा रहेर काम गरिरहँदा अध्यक्ष भण्डारी आफैंले स्वदेश र विदेशमा छुट्टाछुट्टै सञ्चालनमा रहेका दुई फरक कम्पनीहरुमा, एकै समयमा दुई फरक जिम्मेवार भूमिकामा काम गरेको देखिँदा उनको हालको भूमिकामा समेत ‘गम्भीर’ नैतिक प्रश्न उब्जिएको हो।

यस विषयमा टेक्नोलोजीखबरले तीन फरक फरक कानून व्यवसायीहरुसँग कुराकानी गर्दा, हाल जिम्मेवार पदमा रहेका व्यक्तिमाथि यसले नैतिक प्रश्न उठ्ने उल्लेख गरे।
हेर्दा सामान्य र खासै ठूलो विषय जस्तो नदेखिने र कानुनी हिसाबले दण्डनीय जस्तो नलागे पनि दूरसञ्चार क्षेत्रको नियामक तथा सरकारी निकायको कार्यकारी अधिकार लिएर काम गर्दैगर्दा उनको आचरणमाथि भने पक्कै पनि प्रश्न गर्ने ठाउँ रहेको कानूनी जानकारहरुको भनाई छ।
दूरसञ्चार क्षेत्रमा समेत कानूनी वकालत गरिरहेका र दूरसञ्चार क्षेत्रलाई नजिकबाट नियालिरहेका एक अधिवक्तालाई यसबारेमा सोध्दा कानूनी प्रश्न नदेखिए पनि नैतिक प्रश्न उब्जिने बताए। ती अधिवक्ताले नाम उल्लेख नगर्ने शर्तमा भने, “सम्बन्धित संस्थाको कर्मचारी विनियमावलीमा राजीनामा नदिई कुनै अर्को संस्थामा काम गर्न वा संलग्न हुन मिल्ने प्रावधान छ भने समस्या हुँदैन। कुन खालको पदमा नियुक्ति लिएको हो र उक्त पदमा हुँदा कुनै दायित्व सिर्जना हुन्छ कि हुँदैन भन्ने कुराले बढी महत्व राख्छ।”
“नैतिक हिसाबले कुनै संस्थामा बहालवाला रहँदा अर्को विदेशी संस्थामा मुख्य कार्यकारीका रुपमा नियुक्ति लिनु गलत नै देखिने तर काम गरिरहेको संस्था तथा नियुक्ति दिने संस्थाका आ-आफ्ना कर्मचारी नियमावलीमा उल्लेख भएको प्रावधानमा के लेखिएको छ भन्ने कुराले गल्ती क्षम्य वा अक्षम्य हुन्छ,” उनको भनाई छ।
हाल दूरसञ्चार क्षेत्रको नियामक संस्थामा काम गरिरहेका बेला प्रश्न उठेको र आफैंले कुनै बेला सोही प्रकारको कार्यलयमा रहँदा नैतिक प्रश्न उठ्ने काम गरेकाले यसलाई कानुनी हिसाबले ठूलो नभए पनि सामान्य मान्न नसकिने उनले बताए।
यस हिसाबले हेर्दा स्वदेशमा एउटा पदमा रहँदै गर्दा विदेशी संस्थाको सीईओको नियुक्ति लिएको देखिएकाले यसले अन्तर्राष्ट्रिय कानुन पनि आकर्षित गर्न सक्ने उनले सुझाए।
अर्का वरिष्ठ अधिवक्ताको भनाई पनि लगभग उस्तै छ। उनी भन्छन्, “दस्तावेजका आधारमा हेर्दा यो लिगल होइन मोरल इस्यू हो। यसलाई लिगल बनाउने हो भने ‘स्वार्थ बाझिने’ भन्ने कुरा प्रमुख हुनुपर्छ। राजीनामा दिइने र नियुक्ति दिने स्वदेश वा विदेश जहाँको भए पनि स्वार्थ बाझिने अवस्थामा कानुन आकर्षित हुन्छ तर स्वार्थ बाझिएन भने यसलाई नैतिक सवालका रुपमा मात्र लिन सकिन्छ।”
यी अधिवक्ताको भनाईलाई हेर्दा लासेल र स्पाइस नेपाल दुवै दूरसञ्चार क्षेत्रमै काम गरेका कम्पनीहरु भएकाले फरक देश र महादेशमै भए पनि हाल अरुलाई नैतिक प्रश्न गर्ने र दण्ड-सजाय पनि सिफारिस गर्ने दूरसञ्चार प्राधिकरण प्रमुख कार्यकारी पदमा रहेको व्यक्ति १९ दिनसम्म दोहोरो पदमा बसेर काम गर्नु नैतिक रुपले गलत नै देखिन्छ।
तर, कानूनमा विद्यावारिधि गरेर कानुन व्यवसाय गर्दै र अध्यापन गराउँदै आएका एक वरिष्ठ अधिवक्ता (नाम उल्लेख नगर्ने शर्तमा) को भनाई भने केही फरक रहेको छ। उनले भने, ‘सम्बन्धित संस्थाले उजुर/बाजुर नगरेको अवस्थामा यो त्यति ठूलो विषय हुँदैन। उहाँका हकमा तत्कालीन स्पाइस नेपालले आफ्नो कर्मचारीले राजीनामा नदिँदै अर्को विदेशी संस्थामा मुख्य कार्यकारीको पद सम्हालेको भनेर कुनै उजुरी दिएको छैन भने वा संस्थाले आफ्नो विनियमावलीमा यसरी राजीनामा नदिँदै अर्को ठाउँमा नियुक्ति लिन मिल्ने प्रावधान राखेको छ भने यसले देशको श्रम कानुन वा अन्य कानुन आकर्षित गर्दैन।’
संस्थागत हिसाबले हेर्दा स्पाइस नेपाल र लासेल एसयू दुवै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु भएकाले स्वदेश वा विदेश जहाँ भएपनि एकै प्रकारको स्वार्थ बाझिने संस्थामा एकै पटक फरक तर जिम्मेवार र कार्यकारी जस्तो भूमिकामा १९ दिनसम्म रहनु पक्कै पनि अज्ञानतावश: नहुन सक्छ। यति जिम्मेवार पदमा रहेको व्यक्तिले मलाई नियम कानुन थाहा थिएन त्यसैले यस्तो भयो भन्ने तर्क राख्न मिल्ने ठाउँ पनि नदेखिने उनीहरुको तर्क छ।
यसैगरी, टेक्नोलोजीखबरले दुवै कम्पनीहरुका कागजातहरुको बारेमा सम्बन्धित संस्थाहरुमा बुझ्ने प्रयास गरेको थियो।
तर लासेल अर्थात पछि नाम परिवर्तन भएर बनेको ‘स्मार्ट टेलिकम-बुरुण्डी’ सरकारी कर नतिरेपछि हाल बन्द रहेको र त्यसको वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरु समेत ठप्प रहेको देखिन्छ। त्यसैले उक्त संस्थाबाट थप जानकारी लिन सकिएन।
उता, एनसेलमा सम्पर्क गर्दा अध्यक्ष भण्डारीको उक्त कम्पनी सम्बद्ध अनुभव पत्र सही रहेको र त्यसमा भएका विवरणहरु समेत सत्य रहेको उच्च स्रोतले केहि समय अगाडि जानकारी दिएको थियो।
यी दुवै योग्यता अनुभव पत्रहरु उनले आफ्नो बायोडाटाको साथमा यो क्षेत्रको जानकार र अनुभवीको रुपमा प्राधिकरणको अध्यक्ष पदका लागि दावेदरको रुपमा आवेदन दिँदा बुझाएका थिए।
यस बारेमा थप बुझ्न प्राधिकरणका अध्यक्ष भण्डारीसँग हामीले सम्पर्क गरेका थियौं। फोन नउठेपछि एसएमएसमार्फत् जानकारी गराएपश्चात उनले आफू बैठकमा व्यस्त भएकाले यसबारेमा पछि बसेर छलफल गर्न टेक्नोलोजीखबरसँग आग्रह गरे।
उनको थप प्रतिकृया आएमा यसमा समावेश गर्नेछौं।
प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार