Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
मेटा एआई चाँडै नै फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपसँगै मेटाको छुट्टै एप बन्ने भएको छ। यस योजनासँग परिचित स्रोतहरूका अनुसार, कम्पनीले दोस्रो त्रैमासिकमा मेटा एआई को छुट्टै एप सार्वजनिक गर्ने योजना बनाइरहेको छ।
यो मेटाका सीईओ मार्क जुकरबर्गको २०२४ को अन्त्यसम्म ओपनएआई र अल्फाबेटजस्ता प्रतिस्पर्धीहरूलाई पछि पार्दै कम्पनीलाई एआई क्षेत्रमा अगाडि लैजाने लक्ष्यतर्फको ठूलो कदम हो।
मेटा एआई च्याटबट पहिलो पटक सेप्टेम्बर २०२३ मा सार्वजनिक भएको थियो, जसलाई कम्पनीले आफ्नो एपहरूमा प्रयोगकर्ताका सोधपुछका आधारमा उत्तर दिने र तस्बिरहरू सिर्जना गर्ने एआई सहायकका रूपमा प्रस्तुत गरेको थियो। अप्रिलमा, मेटाले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र म्यासेन्जरको खोजी (सर्च) फिचर हटाएर त्यसको स्थानमा मेटा एआई च्याटबट राखेको थियो।
मेटा एआई अहिले जुकरबर्गका लागि कम्पनीको जेनेरेटिभ एआई प्रविधिहरू अरबौं उपभोक्तासामु प्रदर्शन गर्ने प्रमुख माध्यम बनेको छ।
“यो वर्ष अत्यधिक बुद्धिमान र व्यक्तिगत एआई सहायक १ अर्बभन्दा बढी मानिसहरूलाई पुग्नेछ, र मेटा एआई त्यो प्रमुख एआई सहायक बन्ने अपेक्षा गरेको छु,” जनवरीमा कम्पनीको चौथो त्रैमासिक आम्दानी रिपोर्टका क्रममा जुकरबर्गले विश्लेषकहरूलाई बताएका थिए।
च्याटजीपीटी र पर्प्लेक्सिटीजस्ता प्रतिस्पर्धी जेनेरेटिभ एआई उपकरणहरूभन्दा फरक रूपमा मेटा एआई हाल फेसबुक, व्हाट्सएप जस्ता मेटाका एपहरू वा वेबसाइटमार्फत मात्र उपलब्ध छ। छुट्टै एपमार्फत प्रयोगकर्ताहरूले डिजिटल सहायकसँग अझ गहिरो रूपमा अन्तर्क्रिया गर्न सक्ने स्रोतहरूले बताएका छन्।
जनवरीमा, एक थ्रेड्स प्रयोगकर्ताले मेटा एआईको छुट्टै मोबाइल एप बनाउन सुझाव दिएपछि जुकरबर्गले रातो इमोजी प्रयोग गरेर सहमति जनाएका थिए।
थ्रेड्स प्रयोगकर्ताले छुट्टै एपले स्मार्टफोन र रे-ब्यान मेटा स्मार्ट चश्माजस्ता विभिन्न हार्डवेयर प्लेटफर्महरूमा डिजिटल सहायकलाई एकीकृत गर्न मद्दत गर्ने, प्रयोगकर्ताहरूलाई आफ्नो कुराकानी इतिहास व्यवस्थित गर्न सहायता पुर्याउने र व्यक्तिगत रुपमा कस्टमाइजेशन गर्न सजिलो बनाउने बताएका थिए।
मेटाले ओपनएआई र माइक्रोसफ्टजस्तै मेटा एआईका लागि सशुल्क सदस्यता सेवा परीक्षण गर्ने योजना पनि बनाइरहेको छ।
कम्पनीका वित्त प्रमुख सुसान लीले जनवरीमा विश्लेषकहरूलाई मेटा एआई मुख्य रूपमा उत्कृष्ट उपभोक्ता अनुभव निर्माणमा केन्द्रित रहेको बताउँदै, “भुक्तानी सिफारिस र प्रिमियम सेवाहरू जस्ता व्यवसायिक अवसरहरू यहाँ स्पष्ट रूपमा छन्” भनेकी थिइन्।
कम्पनीले यस विषयमा कुनै टिप्पणी गरेको छैन। यो समाचार प्रकाशित भएको केहीबेरमै ओपनएआईका सीईओ साम अल्टम्यानले एक्स व्यंग्यात्मक रूपमा पोस्ट गर्दै लेखे, “ठीक छ, सायद हामी सामाजिक एप बनाउँछौं।”
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार