आफ्नो भुक्तानी नदिएको भन्दै क्यान महासंघका कोषाध्यक्षलाई अध्यक्षको स्पष्टिकरण पत्र, विवादका बिच रणनीतिक बैठक

Technology Khabar १७ फाल्गुन २०८१, शनिबार

आफ्नो भुक्तानी नदिएको भन्दै क्यान महासंघका कोषाध्यक्षलाई अध्यक्षको स्पष्टिकरण पत्र, विवादका बिच रणनीतिक बैठक
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।

काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ भित्र अध्यक्ष र अन्य पदाधिकारीहरु बिच विवाद उत्पन्न भएको छ। गएको चुनावदेखिको खिचातानी माघमा सम्पन्न भएको क्यान इन्फोटेक हुँदै अहिले महासंघको रणनीतिक कार्यक्रमसम्म आउँदा चर्किएको छ।

क्यान महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले कोषाध्यक्ष विक्रम सिंहलाई कारबाही गर्ने उद्देश्यका साथ लिखित स्पष्टिकरण माग गरेसँगै क्यान महासंघ भित्रको विवाद छताछुल्ल भएको छ।

टेक्नोलोजीखबरले स्रोतमार्फत पाएको पत्रमा, अध्यक्षले फागुन १५ गते अर्थात बिहिबार क्यान महासंघका कोषाध्यक्षलाई ३६ घण्टे लिखित स्पष्टिकरण पेश आदेश दिएसँगै विवाद चुलिएको हो।

अध्यक्षले कोषाध्यक्षलाई सोधेको स्पष्टिकरण पत्रमा शुक्रबार र शनिबार हेटौंडाको रिगल हेटौंडा सिसोर्टमा आयोजना भईरहेको महासंघको Strategic Planning Meeting & Installation Program को बारेमा केन्द्रीय कार्य समितिको निर्णय विरुद्ध अध्यक्षलाई नै प्रतिप्रश्न गरी आफ्नो पदीय मर्यादा, जिम्मेवारी, दायित्व विर्सेको आरोप लगाईएको छ।

कोषाध्यक्ष सिंहलाई सो कार्यक्रमको खर्च व्यवस्थापनको जिम्मा नलिएको, अध्यक्षको निर्देशनको अवज्ञा गरेको कार्य समितिको बैठकको निर्णय कार्यान्वयन नगरेको, पदभार सहितको प्रमाणपत्र प्रदान गर्ने लगायतको पदस्थापन खर्चको लागि पेश्की वापत रकम भुक्तानी नदिएको जस्ता ४ बुँदे आरोपसमेत लगाईएको छ।

स्पष्टिकरण पत्रको जवाफ चित्त नबुझेमा विधान अनुसार थप कारबाही गर्ने चेतावनी अध्यक्ष घिमिरेले दिएकी छ्न्।

अध्यक्ष घिमिरेले सोधेको उक्त स्पष्टिकरण पत्रमा भने क्यान महासंघको लेटर प्याड दूरुपयोग भएको हो कि भन्ने क्यान महासंघ भित्रै आशंका गरिएको छ। उक्त पत्रमा अध्यक्ष घिमिरेको हस्ताक्षर भएपनि कोषाध्यक्षको थर गलत उल्लेख रहेको, पत्रमा पत्र संख्या र चलानी नम्बर उल्लेख गरिएको छैन् भने संस्थाको आधिकारीक छाप समेत देखिँदैन्।

क्यान महासंघ स्रोतले उक्त स्पष्टिकरण हचुवाको भरमा पठाईएको र अध्यक्षले आफ्नो रिसिईबी साँधेको दाबी गरेको छ।

“पत्र हेर्दानै रिस फेर्न पठाएको जस्तो देखिन्छ। कोषाध्यक्षले अध्यक्ष ज्यूको आफ्नो खर्च भुक्तानी नदिएपछि कारबाहीको पत्र पठाउनु भएको हो। त्यसैले पत्रमा पत्र संख्या र चलानी नम्बरनै राख्न छुटाउनु भयो,” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

यस्तो छ पत्र

उक्त पत्रको बारेमा सोध्दा क्यान महासंघका कोषाध्यक्ष सिंहले आफूले पत्र पाएको र थप कानूनी प्रकृयामा रहेको जानकारी दिए।

“मैले पत्र पाएको छु। अरु केहि नभनौं। त्यसको विरुद्धमा म अर्को साता कानूनी प्रकृयामा जाँदैछु,” उनले भने।

कोषाध्यक्ष सिंहले थप कुरा भन्न नमाने पनि यस विवादको बारेमा जानकार स्रोतले अध्यक्ष घिमिरे र कोषाध्यक्ष सिंहबिच यस अघिको विभिन्न भुक्तानीहरुको बारेमा विवाद भएको बतायो।

यसअघि अध्यक्षले आफ्नो कम्पनीको नाममा आएको खर्च क्यान महासंघमार्फत भुक्तानीका लागि दबाब दिएकी थिईन्। तर कोषाध्यक्ष सिंहले उक्त भुक्तानी नगर्ने अडान लिएका थिए। सोही कारण दुबै बिच विवाद भएको र अहिले रणनीतिक योजना कार्यक्रम आयोजनाको समय पारेर कारबाही गर्न खोजिएको स्रोतको दाबी छ।

विवादमा रणनीतिक योजना बैठक

हेटौंडँमा जारी क्यान महासंघको रणनीतिक योजना बैठक। तस्बिर चिरन्जीबी अधिकारीको फेसबुकबाट।

यसैबीच हेटौँडा बैठक जारी रहँदा कार्यसमिति सदस्यहरु र पदाधिकारीहरु बिच नै अर्को मतभेद समेत देखिएको छ।

हेटौंडामा आयोजित बैठकलाई केहि दिन पछाडी सार्न केहि पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुले निरन्तर आग्रह गरेपनि अध्यक्षले त्यसलाई अस्विकार गरेकी थिईन्। उनले हाल जारी बैठक तोकिएकै समयमा बस्ने र त्यसमा अन्य कुनै विषय मान्य नहुने जिकिर गरेकी थिईन्।

तर केहि पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुले भर्खरै क्यान इन्फोटेक सकिएको र त्यसको आन्तरिक कार्य सक्न अझै बाँकी रहेको हुँदा केहि समय सार्न आग्रह गरेका थिए।

तर, बैठकमा उनले तोकिएको समयमा कार्यक्रम नगरिए क्यान महासंघ जस्ता अन्य संस्थाहरु अगाडि बढ्न सक्ने चेतावनी दिएको बताईएको छ।

विवाद उत्पन्न भएसँगै, उक्त रणनीतिक योजना बैठकमा क्यान महासंघका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा सचिवहरुलगायतका महत्वपूर्ण पदाधिकारीहरु नै अनुपस्थित रहेको देखिन्छ।

टेक्नोलोजीखबरले स्रोत मार्फत पाएको कागजातमा उक्त बैठकमा २० जना मात्र कार्यसमिति सदस्यहरु उपस्थित रहेका देखिन्छ। जसले गर्दा उक्त बैठक बहुमत बिना कुनै निर्णय गर्न असफल हुनसक्ने देखिएको छ।

स्रोतका अनुसार रणनीतिक योजना बैठकको पहिलो दिन सुनैना घिमिरे पाण्डे, रन्जित कुमार पोद्दार, हर्क बहादुर सेठी, चिरञ्जीवी अधिकारी, शेखर नाथ दुलाल, सिर्जना श्रेष्ठ, सरिता न्यौपाने, उमेश रघुवंशी, ध्रुवराज शर्मा (सुदिप), नारायण प्रसाद श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, केशव प्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, दीपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, राजु बानियाँ, दिनेशराज कार्की, ओमकार बस्नेत र गंगा भण्डारीसहित २० जना वर्तमान कार्यसमिति सदस्यहरु छन्।

यस बाहेक बैठकमा, लेखा समिति सदस्य भानुभक्त शर्मासहित प्रदेशका प्रदेशका प्रतिनिधिहरु किरण श्रेष्ठ, गुणनिधी पाण्डे, नारायण खनाल, धीरेन्द्र बोगटी उपस्थित रहेका छन्।

उक्त बैठकमा निर्णयका लागि बहुमत नपुग्ने देखिएसँगै अध्यक्ष घिमिरेले हेटौंडाका श्यामकल श्रेष्ठलाई कार्यसमिति सदस्य मनोनित गरेकी छन्।

“बैठकमा बहुमत कोरम नपुगेपछि नयाँ सदस्य मनोनित गर्नुभएको छ तर त्यसले पनि हुँदैन्,” बैठक बारेमा जानकार स्रोतले भन्यो, “हाल ४१ जनाको कार्यसमिति हुँदा बहुमतका लागि समेत कम्तिमा २२ जना चाहिन्छ। त्यो जुट्ने संभावना छैन्। तर प्रयास जारी छ।”

यसैबीच, रणनीतिक योजना बैठक बारेमा जानकार अर्का कार्यसमिति सदस्यले उपाध्यक्ष चिरन्जीबी अधिकारीको योजनामा बैठक आयोजना गरिएको जिकिर गरेको छ। स्रोतकाअनुसार, अध्यक्षको टिमसँगको सहमतिमा हालको बैठकबाट अधिकारीले वरिष्ठ उपाध्यक्ष पदमा चुनिने योजना गरेका थिए।

“उनी उपाध्यक्षको चुनाव जित्दा एउटा खेमामा थिए भने वरिष्ठ उपाध्यक्ष हुने लोभमा सो खेमालाई छोडेर अध्यक्ष घिमिरेको खेमामा पुगेका छन्। तर योजना फेल खाएको छ। अब के हुन्छ शनिबार मात्रै थाहा हुन्छ,” उक्त स्रोतले जिकिर गर्यो।

स्मरण रहोस्, यसअघिको कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्षको पदलाई क्यान इन्फोटेकको टाइटल स्पोन्सरसँग साटिएको थियो। तत्कालिन समयमा क्यान इन्फोटेकको टाइटल स्पोन्सर लिईदिए बापत उमेश रघुवंशीलाई वरिष्ठ उपाध्यक्षको पद उपहारमा दिईएको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

इन्फोटेक प्रायोजनबापत कुनै पद नदिएको भन्ने क्यान महासंघको वेबसाइटले नै गर्यो समाचार सत्य भएको पुष्टि

स्रोतकाअनुसार, वरिष्ठ उपाध्यक्ष पाईने लोभमा उपाध्यक्ष अधिकारीले सो बैठकमा आफूले ९ जना कार्यसमिति सदस्य ल्याउने बताएका थिए।

“तर उनको खास पक्षका करिब ४/५ जना मात्र उपस्थित भएको देखिन्छ। जसले बहुमत कोरम पुर्याउन नसकिने भयो,” रणनीतिक योजना बैठक स्रोतले भन्यो।

उपाध्यक्ष अधिकारी यसअघि महासचिव हुँदा पनि विवादमा आएका थिए। त्यसबेला उनी टेरामोक्स सिस्टमको लागि क्यान महासंघ र नेपाल दूरसञ्चार प्राधिकरणसँगै विवादमा आएका थिए।

क्यान महास‌ंघका तत्कालिन महासचिव अधिकारीले टेरामोक्सको बारेमा सकारात्मकरुपमा प्रविधिको बारेमा व्याख्या गर्नेगरी कार्यक्रम गराउने योजनासहित प्रस्ताव पारित गराएका थिए।

तर टेक्नोलोजीखबरले उक्त प्रस्ताव, छलफल र कार्यक्रमको बारेमा प्रमाणसहित समाचार प्रकाशित गरेसँगै सो कार्यक्रम रोकिएको थियो।

सम्बन्धित समाचार-

टेरामोस लागू नगर्ने प्रधानमन्त्रीको निर्णय विरुद्ध लाग्न क्यान महासंघलाई ‘उक्साउँदै’ दूरसञ्चार प्राधिकरण

हेटौ‌ँडामा आयोजना भईरहेको रणनीतिक योजना बैठकको बारेमा सोध्दा क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले आफू सो बैठकमा उपस्थित नरहेको जानकारी दिए।

“म बैठकमा आउन भ्याउँदिन् भनेर भनेको थिएँ। त्यसैले सो बैठकको बारेमा जानकारी छैन्,” महासचिव भुर्तेलले भने, “बैठक सम्पन्न भएपछि के निर्णयहरु आउँछन् त्यस पछि मात्र भन्न सक्छु।”

महासचिव भुर्तेलले टेक्नोलोजीखबरलाई बैठकमा जान नभ्याएको भने पनि उनी सो बैठकलाई केहि दिन पछि सार्नुपर्ने पक्षमा रहेका जानकार स्रोतले भनेको छ।

“उनी क्यान इन्फोटेकमा अध्यक्षले गरेको असहयोग देखिनै रुष्ट थिए। त्यसैले भ्याउँदिन भनेका हुन्,” यस बारेमा जानकार स्रोतले भन्यो।

महासचिव भुर्तेल यस बाहेक कोषाध्यक्षलाई कारबाही गर्ने पत्र देखेपछि थप रुष्ट भएको उक्त स्रोतको भनाई छ।

“अध्यक्षले गलत नियतले कोषाध्यक्षलाई स्पष्टिकरण सोधेपछि उनी पनि त्यसमा असन्तुष्ट छन्। भोली सबैलाई त्यस्तो पत्र आउन सक्ने देखिन्छ, त्यसैले पनि उनी हेटौंडा नगएका हुन्,” स्रोतले भन्यो।

क्यान इन्फोटेकको विवाद

माघमा सम्पन्न भएको क्यान इन्फोटेक पनि विवादरहित हुन सकेन्। यस पटक बाहिरी कारण भन्दा पनि क्यान महासंघ भित्रकै मतभेदले विवादित बन्यो।

क्यान इन्फोटेकका संयोजक रहेका उपाध्यक्ष नविन जोशीले आफ्ना सहकर्मीहरु माझ खुलारुपमा नै अध्यक्ष घिमिरेले असहयोग गरेको गुनासो गरेका थिए। उनले अन्तिम समयमा आएर आफैंले स्पोन्सर खोज्ने लगायत कार्यक्रमको व्यवस्थापनसहितका काम गर्नुपरेको र अध्यक्षले यसमा पहल नगरेको गुनासो गरेको जानकार स्रोतले भनेको छ।

“त्यसबेला अध्यक्ष घिमिरेले चेकमा समेत हस्ताक्षर गर्न मान्नुभएको थिएन्,” स्रोतले भन्यो।

क्यान इन्फोटेक उद्घाटन विवाद

यस बाहेक क्यान इन्फोटेकको औपचारिक उदघाटन कार्यक्रममा समेत विवाद उत्पन्न भएको थियो।

उक्त कार्यक्रम हुँदा डायसमा पूर्व अध्यक्ष नवराज कुँवरलाई वर्तमान एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को उपाध्यक्षको रुपमा राख्न नमानेपछि विवाद उत्पन्न भएको थियो।

कुँवर क्यान महासंघको प्रतिनिधित्व गर्दै दोस्रो पटक असोसियो उपाध्यक्ष पदमा छन्।

सम्बन्धित समाचार-

क्यान महासंघका नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

तर क्यानकै प्रतिनिधि भएर असोसियो उपाध्यक्ष बनेका कुँवरलाई डायसमा राख्न अध्यक्ष घिमिरेले अस्विकार गरेकी थिईन्।

“यस विषयमा हाम्रो ग्रुप च्याटमा समेत विवाद छताछुल्ल भएको थियो। तर कुँवर उद्घाटन कार्यक्रममा नै नआएपछि समस्या टर्यो,” क्यान स्रोतले भन्यो।

पछिल्ला विवादहरुलाई अध्यक्षले मिलाउनु पर्नेमा आफैं थप विवाद उत्पन्न गरिरहेको क्यान कार्यसमिति सदस्यहरुको भनाई छ।

“अध्यक्ष ज्यूले सबै विवाद मिलाएर सफल हुने बाटोमा जानुपर्नेमा सबैसँग विवाद गर्न थाल्नुभएको छ। यसले अन्ततः क्यान महासंघलाई नै हानी गर्नेछ,” एक कार्यसमिति सदस्यले टेक्नोलोजीखबरसँग भने।

प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया