सात महिनामा साढे १७ करोडमाथिको बेस स्टेशन उपकरण आयात

Technology Khabar १७ फाल्गुन २०८१, शनिबार

सात महिनामा साढे १७ करोडमाथिको बेस स्टेशन उपकरण आयात
Global IME Bank

काठमाडौं ।

नेपालमा बेस स्टेशन (बीटीएस)को आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्को वैदेशिक व्यापारको तथ्यांक अनुसार १७ करोड ५६ लाख २६ हजार बराबरको बेस स्टेशन आयात भएको छ।

यस अवधिमा उक्त रकम बराबरको ३८७ थान बेस स्टेशन आयात भएको छ।

गत आर्थिक वर्ष २०७०/८१ को सोही अवधिसम्म ३ करोड ९६ लाख ८५ हजार रुपैयाँ बराबरको १०८ थान बेस स्टेशन आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा बेस स्टेशनको आयात रकम १३ करोड ५९ लाख ४१ हजार रुपैयाँ अर्थात झण्डै ३९६ प्रतिशतले बढेको छ।

यस्तै बेस स्टेशनको आयात सङ्ख्या २७९ थानले घटेको देखिन्छ।

चालु आवको माघ मसान्तसम्म सरकारले बेस स्टेशनको आयात मार्फत ७३ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ६ मुलुकबाट बेस स्टेशन आयात हुने गरेको देखिन्छ।

नेपालमा संख्या र रकमको आधारमा चीनबाट सबैभन्दा धेरै बेस स्टेशन आयात हुने गरेको छ। यो अवधिमा भने सबैभन्दा बढी बेस स्टेशन उपकरण चीनबाटै आएको छ तर रकम भने ५९ लाख ७३ हजारमात्रै छ। उक्त रकम बराबरको २१० थान बेस स्टेशन आएको छ।

भारतबाट ४ लाख ५६ हजार रुपैयाँ बराबरको ८ थान, ताइवानबाट ५९ हजार रुपैयाँ बराबरको २ थान, संयुक्त राज्य अमेरिकाबाट ६ करोड ६४ लाख २० हजारबराबरको ४२ थान, मलेशियाबाट ८५ लाख ९८ हजार रुपैयाँ बराबरको ४० थान र संयुक्त अरब इमिरेट्सबाट ९ करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरको ८५ थान बेस स्टेशन आयात भएको छ।

के हो बेस स्टेशन?

बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।

बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।

किन आउँछन् बीटीएस उपकरण?

दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदण्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।

यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।

यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।

Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया