चीनको मार्स रोभरले भेट्टायो मंगल ग्रहमा पुरानो समुद्री किनारा, कुनै बेला बस्ती रहेको भनाईलाई थप बल पुग्ने

Technology Khabar १६ फाल्गुन २०८१, शुक्रबार

चीनको मार्स रोभरले भेट्टायो मंगल ग्रहमा पुरानो समुद्री किनारा, कुनै बेला बस्ती रहेको भनाईलाई थप बल पुग्ने
Global IME Bank

काठमाडौं ।

मङ्गल ग्रह हिजो आज चिसो मरुभूमि जस्तै छ, जहाँ ढुंगा र धुलो मात्र पाइन्छ। तर ४ अर्ब वर्षअघि, यो ग्रहमा खोलाहरू, तालहरू र यहाँसम्म कि बालुवायुक्त समुद्री किनारहरू समेत थिए।

चीनको झुरोङ रोभरबाट प्राप्त नयाँ तथ्याङ्कले ती हराएका समुद्री किनारहरूमध्ये एकको पहिलो प्रमाण देखाएको छ। झुरोङले मङ्गलको सतहभन्दा करिब १० मिटर (३३ फिट) तल बालुवायुक्त ढल्केका तहहरू पत्ता लगाएको छ, जुन राम्रोसँग सुरक्षित छन्।

रोभरमा रहेको ग्राउन्ड-पेनेट्रेटिङ रडारले बाक्लो बालुवा तहहरू पत्ता लगायो, जसले ढुंगायुक्त किनारतर्फ क्रमशः उकालो लागेको देखाउँछ। वैज्ञानिकहरूका अनुसार यी संरचनाहरू बालुवा टिलाजस्ता, उल्का पिण्डको प्रभावले बनेका क्रेटरहरू वा ज्वालामुखी प्रवाहजस्ता देखिँदैनन्।

“त्यसपछि हामीले महासागरबारे सोच्न सुरु गर्‍यौं,” क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका पृथ्वी तथा ग्रह विज्ञानका प्राध्यापक माइकल माङ्गाले भने। “यी संरचनाहरू पुरानो समुद्री किनारको दिशासँग समानान्तर छन्। तिनको दिशा र ढलान दुवै सही छन्, जसले लामो समयसम्म समुद्र रहेको अवधारणालाई समर्थन गर्छ।”

स्पेस डटकमका अनुसार झुरोङ मे २०२१ देखि मे २०२२ सम्म करिब एक वर्षसम्म एउटा उकालो ढुंगायुक्त भागको फेद हुँदै फराकिलो समथर भू-भागको किनारमा घुमिरहेको थियो। सतहबाट हेर्दा यो ठम्याउन गाह्रो छ, तर यो पुरानो समुद्री किनार मङ्गलको यूटोपिया बेसिन भनिने ३,३०० किलोमिटर (२,०५० माइल) चौडा प्रभाव क्रेटरभित्र रहेको देखिन्छ।

यूटोपिया बेसिन सौर्यमण्डलकै सबैभन्दा ठूलो हालसम्म थाहा भएको क्रेटर हो। वैज्ञानिकहरूले पहिले अनुमान गरेका थिए कि यूटोपिया बेसिन कहिल्यै प्राचीन समुद्रले भरिएको हुन सक्छ, र झुरोङले यात्रा गरेको भीर समुद्री किनार हुन सक्ने सोचिएको थियो।

झुरोङले संकलन गरेको तथ्याङ्कअनुसार यो अनुमान सही भएको पुष्टि भएको छ। १.९ किलोमिटर (१.२ माइल) लामो यात्राका क्रममा, झुरोङको रडारले मङ्गलको जमिनमा ८० मिटर (२६२ फिट) गहिराइसम्म रेडियो तरंगहरू पठायो। ती तरंगहरू चट्टान तथा तलछट तहहरूका सीमाहरूमा परावर्तित भएर फर्किंदा वैज्ञानिकहरूले जमिनको भित्री संरचना पत्ता लगाए। सतहभन्दा १० मिटर (३३ फिट) तल, रडारले चिल्लो, क्रमशः उकालो लागेको बालुवा तहहरू देखायो, जुन केही मिटर बाक्लो थियो। ती तहहरू ढुंगायुक्त भीरसँग समानान्तर देखिए, र १५ डिग्रीको कोमल ढलानमा उकालो लागेका थिए — जुन पृथ्वीका समुद्री किनारहरूसँग मेल खान्छ।

यो गाडिएको समुद्री किनार मङ्गल ग्रहमा कुनै बेला साँचो अर्थमा महासागर रहेको पहिलो प्रमाण हुन सक्छ। यसको अस्तित्वले देखाउँछ कि रातो ग्रहमा लाखौँ वर्षसम्म महासागर थियो, जसले झुरोङको रडारले देखाएको बाक्लो बालुवा तह निर्माण गर्न समय पाएको थियो।

वैज्ञानिकहरूका अनुसार, त्यो महासागर खोलाहरूबाट भरिन्थ्यो, जसले तलछट बोकेर समुद्रमा पुर्याउँथ्यो। त्यसपछि छालहरूले ती थिग्रिएका ढुङ्गामाटो हरू तटमा फैलाउँदै पृथ्वीको समुद्री किनारझैं देखिने संरचना बनाएको हुनसक्ने स्पेस डटकमले उल्लेख गरेको छ।

“समुद्री किनारहरू प्राचीन जीवनको प्रमाण खोज्न उत्कृष्ट स्थान हुन्,” पेन्सिलभेनिया स्टेट विश्वविद्यालयका भू-विज्ञानी तथा अध्ययनका सहलेखक बेंजामिन कार्डेनासले भने। “पृथ्वीमा सबैभन्दा पुरानो जीवन यस्तै ठाउँमा, हावा र कम गहिराइको पानीको सीमामा सुरु भएको हुनसक्छ।” (पृथ्वीमा जीवन कहाँ र कसरी सुरु भयो भन्ने यकिन छैन, तर यस्तो समुद्री किनार वा गहिराइमा रहेको तातो पानी निस्कने ठाउँहरू सम्भावित स्थान हुन्।)

यो खोज वैज्ञानिकहरूका लागि भाग्यको संयोग हो। यदि झुरोङको समुद्री किनार ३.५ अर्ब वर्षसम्म उल्कापिण्ड आघात, ज्वालामुखी विस्फोट र धूलो आँधीका कारण ढुंगा तथा धूलोले पुरिएको नभएको भए, यो सम्भवतः चिन्नै नसकिने गरी मेटिइसक्ने थियो।

“यस अनुसन्धानले मङ्गलको यो क्षेत्र कुनै समय बासयोग्य रहेको सम्भावनालाई बल पुर्‍याउँछ,” ग्वाङ्झाउ विश्वविद्यालयका प्राध्यापक तथा तियनवेन-१ मिसनका वैज्ञानिक टोलीका मुख्य सदस्य हाइ लिउले भने। तियनवेन-१ मिसन चीनको पहिलो मङ्गल रोभर झुरोङ समावेश गरिएको अभियान हो।

अनुसन्धानको निष्कर्ष ‘प्रोसीडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित गरिएको छ।

Sajilo Visa

प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया