Technology Khabar ९ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं ।
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोराएसले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (जसका मालिक अर्बपति एलन मस्क हुन्) लाई न्यायालयको आदेश अवज्ञा गरेको भन्दै ८.१ मिलियन रियल्स (१.४२ मिलियन डलर) जरिवाना तिर्न आदेश दिएका छन्। यो निर्णय बिहीबार सार्वजनिक भएको हो।
यो मुद्दा गत वर्षको कानुनी प्रक्रियासँग सम्बन्धित छ, जसमा अदालतले एक्सलाई गलत सूचना फैलाएको पाइएको एक प्रोफाइल हटाउन र सो प्रयोगकर्ताको दर्ता विवरण उपलब्ध गराउन आदेश दिएको थियो। तर एक्सले आदेश पालना नगरेपछि प्रतिदिन १००,००० रियल्स जरिवाना लगाइएको थियो, जसले कम्पनीको स्थानीय कानुनी प्रतिनिधिलाई समेत आपराधिक उत्तरदायित्वको जोखिममा पार्यो।
रोयटर्सका अनुसार मोराएसको आदेशमा एक्सले प्रयोगकर्ताको विवरण उपलब्ध नगराएको उल्लेख गर्दै जरिवाना तुरुन्त तिर्न निर्देशन दिइएको छ। ब्राजिलमा एक्सका कानुनी प्रतिनिधिहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
सन् २०२४ मा एक्सले घृणास्पद भाषण नियन्त्रणसम्बन्धी अदालतका आदेश पालना नगरेपछि र देशमा कानुनी प्रतिनिधि तोक्न असफल भएपछि, प्लेटफर्मलाई ब्राजिलमा एक महिनाभन्दा बढी समयका लागि अस्थायी रूपमा निलम्बन गरिएको थियो।
प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार