मेटाद्वारा आफ्ना कर्मचारीहरूको वार्षिक स्टक अप्सन १० प्रतिशतले कटौती

Technology Khabar ९ फाल्गुन २०८१, शुक्रबार

मेटाद्वारा आफ्ना कर्मचारीहरूको वार्षिक स्टक अप्सन १० प्रतिशतले कटौती
Global IME Bank

काठमाडौं ।

मेटा प्लेटफर्म्सले आफ्ना कर्मचारीहरूलाई वितरण गरिने वार्षिक स्टक अप्सन करिब १० प्रतिशतले कटौती गरेको छ। यो जानकारी फाइनान्सियल टाइम्सले बिहीबार रिपोर्ट गरेको हो। यसै महिना सामाजिक सञ्जाल कम्पनीको शेयर मूल्य नयाँ उचाइमा पुगेको भए पनि यो कटौती हजारौं कर्मचारीहरूका लागि गरिएको हो।

फाइनान्सियल टाइम्सका अनुसार, कर्मचारीहरूलाई हरेक वर्ष स्टक अप्सन दिइन्छ, जुन उनीहरूको तलब र वार्षिक बोनससँगै मुख्य पारिश्रमिकको रूपमा गणना गरिन्छ। यी स्टक अप्सनहरू चार वर्षसम्म प्रत्येक तीन महिनामा क्रमशः “वेस्ट” हुने गर्छन्।

धेरैजसो कर्मचारीहरूलाई यो वर्ष १० प्रतिशत कम स्टक अप्सन दिइने जानकारी गराइएको फाइनान्सियल टाइम्सले कम्पनीसँग नजिक रहेका व्यक्तिहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। कटौतीको सटीक मात्रा कर्मचारीहरूको स्थान र उनीहरूको पदअनुसार फरक पर्न सक्ने बताइएको छ।

फाइनान्सियल टाइम्सको रिपोर्टबारे टिप्पणी गर्न मेटाले रोयटर्सलाईलाई कुनै प्रतिक्रिया दिएको छैन।

यस्तै बिहीबार एक नियामक फाइलिङमा मेटाले आफ्ना कार्यकारी अधिकृतहरूको लक्ष्य बोनस ७५ प्रतिशतबाट बढाएर आधार तलबको २०० प्रतिशत पुर्‍याउने योजना स्वीकृत गरेको जनाएको छ। तर यो योजनाले सीईओ मार्क जुकरबर्गलाई भने असर गर्ने छैन।

यसअघि जनवरीमा मेटाले आफ्ना “सबैभन्दा कमजोर प्रदर्शन” गर्ने ५ प्रतिशत कर्मचारीहरू हटाउने योजना सार्वजनिक गरेको थियो र ती पदहरूका लागि नयाँ भर्ना गर्ने बताएको थियो। जुकरबर्गले यस वर्ष थप छाँटछुट हुने संकेत पनि दिएका छन्, जसले कम्पनीको प्रदर्शन सुधार गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

मेटाको शेयर मूल्य जनवरी १७ देखि निरन्तर वृद्धि भइरहेको छ। अमेरिकी सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने कानूनलाई सदर गरेपछि जसलाई तत्काल कार्यान्वयन नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश दिएका थिए मेटाको शेयरमा सकारात्मक असर परेको छ।

सीईओ मार्क जुकरबर्गले जनवरीमा मेटा ले यस वर्ष एआई पूर्वाधार विस्तारका लागि ६५ अर्ब डलरसम्म खर्च गर्ने योजना बनाएको बताएकाले पनि शेयर मूल्यमा सुधार आएको हो।

बिहीबार मेटाको शेयर मूल्य १.३ प्रतिशत गिरावटसहित ६९४.८ डलरमा बन्द भयो।

कम्पनीले जनवरीको अन्त्यमा चौथो त्रैमासिक आम्दानी अनुमानभन्दा बढी देखाए पनि चालु त्रैमासको बिक्री पूर्वानुमान विश्लेषकहरूको अपेक्षाअनुसार नहुन सक्ने संकेत दिएको थियो। यसले कम्पनीको महँगो एआई-सम्बन्धित लगानीहरूको प्रतिफल कस्तो रहने हो भन्नेबारे मिश्रित प्रतिक्रिया पैदा गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया