Technology Khabar ८ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामरा सहयोग गरेको छ। मंगलबार नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै नगरप्रमुख (मेयर) उपेन्द्र कार्कीले सहयोग स्वरूप जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहरालाई डीएसएलआर क्यामरा हस्तान्तरण गरेका हुन् ।
क्यामरा हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले प्रहरीको अनुसन्धानलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा कायम गर्न सहकार्य जारी रहने बताए। प्रहरीसँगको सहकार्यले अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याउने उनले अपेक्षा गरेका छन् ।
‘दृश्यात्मक प्रस्तुतीकरणमा क्यामेराको उपयोगले गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विश्वास छ। प्रहरीको अपराध अनुसन्धानमा सहजीकरण गर्ने उद्देश्यले क्यामेरा प्रदान गरिएको हो,’ नगर प्रमुख कार्कीले भने।
शहरी विकास र सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन कागेश्वरी मनोहरा नगरपालिकाले अस्पताल र प्रहरी बिटको लागि जग्गा पनि सहयोग गर्ने योजना अघि सारेको छ। नगरप्रमुख कार्कीका अनुसार समुदायको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अस्पतालको लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराइने छ। साथै, शान्ति सुरक्षा प्रवद्र्धन गर्न नगरपालिकाका रणनीतिक स्थानहरूमा प्रहरी बिट निर्माणको लागि पनि जग्गा प्रदान गरिने योजना छ।
प्रहरी उपरीक्षक अपिलराज बोहराले अपराध अनुसन्धानमा दृश्य सामग्रीको प्रामाणिकता बढाउन डीएसएलआर क्यामरा उपयोगी हुने बताए। स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाउँदै आधुनिक प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने उनको भनाइ छ। आधुनिकतामा जटिलता बढ्दै गइरहेको अवस्थामा यस्तो सहकार्य र साझेदारीको आवश्यकता अझै बढी महसुस गरिएको बोहराले बताए।
‘प्रविधिको प्रभावकारी उपयोगले अनुसन्धानको गुणस्तरमा सुधार ल्याउने छ। अपराधको प्रमाणिकरणमा मद्दत पुर्याउने विश्वास छ। स्थानीय तहसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै शान्ति सुरक्षा प्रवर्द्धनको लागि निरन्तर सहकार्य गर्छाैं,’ बोहराले भने।
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार