काठमाडौँका सडकको जिआईएस नक्साङ्कन सुरु

Technology Khabar ६ फाल्गुन २०८१, मंगलवार

काठमाडौँका सडकको जिआईएस नक्साङ्कन सुरु
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङकन सुरु गरेको छ।

नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुने छ। यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम सडकसँग सम्बन्धित योजना, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुने छन्।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले महानगरको सम्पूर्ण विकासको योजना तर्जुमाका लागि प्रविधिमा आधारित विवरण तयार गर्न सुरु गरिएको बताए। पाँच जना भौगोलिक सूचना प्रणाली इन्जिनियर र पाँच जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो। नक्साङकनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धिलाई थप गर्दै लगिने प्रवक्ता मानन्धरले जानकारी दिए।

महानगरपालिकाका नापी अधिकृत इन्जिनियर अशोक श्रेष्ठले यस कार्यक्रमबाट २०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका नक्साकन कार्यक्रमबाट सूचीकृत गरिएका दुई हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीको नामाङकन र नक्साङ्कन अवस्थालाई अद्यावधिक गरिने बताए।

उनले भने, “२०५८ सालमा ८० हजार घरधुरीलाई मेट्रिक प्रणालीमा आधारित सल्या (नम्बर) प्रदान गरिएको थियो। त्यसबेला प्रदान गरिएको भौगोलिक सूचना र स्याटेलाइट तस्बिरको मद्दतले अहिलेसम्म दुई हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्साङ्कन र नामाकन भइसकेको छ। स्याटेलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ‘ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ।”

भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याक उपलब्ध हुन सक्ने अवस्था छैन। महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन। प्रशासनिक नक्सा र वडाहरूको सिमानाको अवस्था मिलेको छैन।

यसै कारण भवन र पूर्वाधारको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन। अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यो अभावलाई कम गराउँदै लगिने विश्वास गरिएको नापी अधिकृत श्रेष्ठले बताए।

Sajilo Visa

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया