वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै उच्च-ऊर्जावान ‘गोस्ट पार्टिकल’

Technology Khabar २ फाल्गुन २०८१, शुक्रबार

वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै उच्च-ऊर्जावान ‘गोस्ट पार्टिकल’
Global IME Bank

काठमाडौं ।

वैज्ञानिकहरूले अहिलेसम्मकै उच्च-ऊर्जावान गोस्ट पार्टिकल पत्ता लगाएका छन्। न्यूट्रिनो भनिने यो कण लगभग प्रकाशको गतिमा पृथ्वीमा आएको थियो र यसअघि देखिएको सबैभन्दा ऊर्जावान न्यूट्रिनो भन्दा ३० गुणा बढी ऊर्जा बोकेको थियो। यो प्रमाणले यति उच्च ऊर्जा भएका न्यूट्रिनोहरू ब्रह्माण्डमा उत्पन्न हुन सक्छन् भन्ने देखाउँछ।

यस कणको उच्च ऊर्जा स्तरले यो मिल्की वे बाहिरको स्रोतबाट आएको संकेत गर्छ। वैज्ञानिक टोलीसँग सम्भावित १२ वटा स्रोतहरू छन्, जुन सबै “ब्लेजार” हुन्।

ब्लेजार भनेका “सक्रिय ग्यालेक्टिक न्यूक्लियस” का ऊर्जावान केन्द्रहरू हुन्, जसलाई अति ठूलो ब्ल्याक होलहरूद्वारा ऊर्जा प्राप्त हुन्छ। ब्लेजारहरू विशेष प्रकारका क्वासार हुन्, जसले उच्च ऊर्जा कणहरू र प्रकाशको किरणहरू सीधै पृथ्वीको दिशामा पठाउँछन्।

एउटा अल्ट्राम्यासिभ अर्थात् अति भयंकर ब्रह्माण्डीय किरण कणले बिग ब्याङपछि ब्रह्माण्डमा बाँकी रहेका प्रकाश कणहरू अर्थात् “फोटोन” सँग ठोक्किएपछि यो उच्च-ऊर्जावान न्यूट्रिनो तब उत्पन्न भएको हुनसक्ने सम्भावना पनि रहेको स्पेस डटकमले उल्लेख गरेको छ।

यो न्यूट्रिनो फेब्रुअरी १३, २०२३ मा भूमध्यसागरको सतहबाट ११,३०० फिट (३,४५० मिटर) तल रहेको किलोमिटर क्युबिक न्यूट्रिनो टेलिस्कोपद्वारा पत्ता लगाइएको थियो। यो घटनालाई KM3-230213A को नाम दिइएको छ। घटनाका क्रममा, एक मात्र म्युओन कणले पूरा KM3NeT डिटेक्टर पार गर्दै हजारौँ सक्रिय सेन्सरहरूलाई उज्यालो बनायो।

स्पेस डटकमका अनुसार “यो न्यूट्रिनो अत्यधिक सम्भावनाका साथ ब्रह्माण्डीय स्रोतबाट आएको हो, र यसको ऊर्जा स्तर अहिलेसम्म नखुलेको क्षेत्रमा छ,” फ्रान्सको नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका पास्कल कोयलले फेब्रुअरी ११, मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने। “इतिहासले देखाएको छ कि जब नयाँ ‘ऊर्जाको झ्याल’ खोलिन्छ, तब तपाईं के फेला पार्नुहुन्छ भन्ने थाहा हुँदैन। यो पूर्ण रूपमा अन्वेषण नगरिएको क्षेत्र हो।”

न्यूट्रिनोलाई “गोस्ट पार्टिकल” भनिन्छ किनभने तिनीहरूसँग विद्युत आवेश हुँदैन र तौल लगभग शून्य हुन्छ। वास्तवमा हरेक सेकेन्ड करिब १०० ट्रिलियन न्यूट्रिनो तपाईँको शरीरबाट पार हुँदै जान्छन्, तर तपाईँलाई कुनै अनुभूति हुँदैन।

न्यूट्रिनोहरू ब्रह्माण्डमा फोटोनहरू (प्रकाश कणहरू) पछि दोस्रो सबैभन्दा धेरै पाइने कण हुन्, तर तिनीहरूलाई पत्ता लगाउन निकै गाह्रो हुन्छ। त्यसैले यस्ता डिटेक्टरहरू गहिरो भूमिगत वा समुद्रको गहिराइमा राखिन्छन्।

“न्यूट्रिनोहरू प्रारम्भिक कणहरू मध्ये सबैभन्दा रहस्यमयी हुन्,” इटालीको इन्स्टिट्युटो नाजियोनाले दी फिजिका न्युकेलियरेकी KM3NeT टोली सदस्य रोसा कोनिग्लिओनले पत्रकार सम्मेलनमा भनिन्।

“तिनीहरू विद्युत आवेशविहीन छन्, तौल लगभग छैन, र पदार्थसँग निकै कम अन्तर्क्रिया गर्छन्। तिनीहरू विशेष ब्रह्माण्डीय सन्देशवाहक हुन्, जसले हामीलाई ब्रह्माण्डका अति ऊर्जावान घटनाहरूको यन्त्रणाबारे जानकारी दिन्छन् र ब्रह्माण्डका सबैभन्दा टाढाका क्षेत्रहरू अन्वेषण गर्न मद्दत गर्छन्।”

Sajilo Visa

प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार