Technology Khabar २ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं ।
गुगलले यस वर्ष एक यस्तो फिचर परीक्षण गर्ने भएको छ, जसले मेशिन लर्निङ प्रयोग गरी बालबालिकाहरूलाई यूट्युबमा वयस्क सामग्रीमा पहुँच गर्न रोक्नेछ।
“मेशिन लर्निङ-आधारित उमेर अनुमान मोडेल” ले प्रयोगकर्ता १८ वर्षभन्दा कम उमेरको भए/नभएको अनुमान गर्नेछ र सोहीअनुसार उमेर-सम्बन्धी फिल्टरहरू लागू गर्नेछ। यो घोषणा त्यही बेला गरिएको हो जब अमेरिकी सिनेटले प्रि-टिन बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउने प्रस्तावित विधेयकमा छलफल गरिरहेको छ।
यूट्युबका सीईओ नील मोहनले मंगलबार आफ्नो पत्रमार्फत् यस फिचरको उल्लेख गरेका थिए। उनले लेखेका छन्, “हामी २०२५ मा मेशिन लर्निङ प्रयोग गरेर प्रयोगकर्ताको उमेर अनुमान गर्नेछौं—युवाहरू र वयस्कहरूबीच छुट्याउनेछौं—र तिनीहरूका लागि उत्तम तथा उमेरअनुकूल अनुभव र सुरक्षा प्रदान गर्नेछौं।”
यूट्युबका प्रवक्ताले इन्ग्याजेटलाई बताएअनुसार यो मोडेलले प्रयोगकर्ताले खोज्ने जानकारीको प्रकार, हेर्ने भिडियोको कोटि र खाताको उमेरजस्ता डेटा प्रयोग गरी भविष्यवाणी गर्नेछ।
उदाहरणका लागि, यदि कुनै व्यक्तिले बारम्बार घर कर्जासम्बन्धी जानकारी वा करसम्बन्धी सामग्री खोज्छ भने, त्यो व्यक्ति सम्भवतः १८ वर्षभन्दा बढी उमेरको हुने अनुमान गरिन्छ। त्यस्तै, यदि कुनै खाता २० वर्षभन्दा पुरानो छ भने, त्यसलाई वयस्क प्रयोगकर्ता मान्ने सम्भावना बढी हुन्छ।
यदि मेशिन लर्निङ मोडेलले कुनै प्रयोगकर्ता नाबालिग रहेको भविष्यवाणी गर्छ भने यूट्युबले उमेरअनुकूल सुरक्षा सेटिङहरू लागू गर्नेछ। प्लेटफर्मले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई पहिले नै स्पष्ट (एक्सप्लिसिट) तथा उमेर-प्रतिबन्धित भिडियोहरू हेर्न रोक लगाएको छ।
गुगलको नाबालिग सुरक्षासम्बन्धी नीतिमा सेफसर्च फिल्टर पनि समावेश छ, जसले खोज परिणामहरूमा स्पष्ट सामग्री देखिनबाट रोक्छ।
यूट्युबले इन्ग्याजेटलाई बताए अनुसार यो प्रविधि यसै वर्षको अन्त्यसम्म परीक्षण गरिनेछ। कम्पनीले २०२६ मा विश्वभरि यसलाई लागू गर्ने योजना बनाएको छ। यूट्युबका सीईओले यो फिचर घोषणा गरे पनि गुगलले अन्य ठाउँमा पनि यसको परीक्षण गर्नेछ। तर, अन्य कुन-कुन क्षेत्रमा यो फिचर लागू गरिनेछ भन्ने स्पष्ट छैन।
गुगलमात्र यस्तो प्रविधि परीक्षण गर्ने कम्पनी होइन। गत वर्ष मेटाले पनि इन्स्टाग्राममा “एडल्ट क्लासिफायर” टुल प्रयोग गरी नाबालिग प्रयोगकर्ताहरूलाई छुट्याउने योजना बनाएको थियो।
प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार