Technology Khabar २९ माघ २०८१, मंगलवार
काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व असक्षम हुँदा काम रोकिएको भन्दै सार्वजनिकरुपमै आरोप लगाएका छन्।
सुरक्षित इन्टरनेट दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री गुरुङले प्राधिकरणले आफ्नो क्षमताअनुसार काम नगरेको भन्दै यसले गर्दा दूरसञ्चार क्षेत्रमा समस्या बल्झिएको बताएका हुन्। उनले प्राधिकरणको नेतृत्व अनावश्यक नियमहरुमा अल्झिएको भन्दै त्यसबाट बाहिर आउन सुझाब दिए।
“हाम्रो ब्यूरोक्रेसीमा रिभोल्यूशन जरुरी छ। मैले भुपेन्द्रजीलाई दिनमा १ पटक फोन गरराखेको हुन्छु। म तातेअनुसार त्यहाँको संस्था तातेको भए परिवर्तन हुन्थ्यो। वा उहाँले काम गर्ने परिस्थति बन्देको भए। आज रेगुलेशन कहाँ छ?” उनले भने।
उनले कतिपय इन्टरनेट सेवा प्रदायकहरुले अहिलेसम्म बाँकीबक्यौता रकम नबुझाएको भन्दै “किन तिरेनन” भन्ने प्रश्न गरे।
प्राधिकरणका अध्यक्ष ऐन, कानून भन्दा पनि नियमावली समातेर बसेको र काम रोकिराखेको उनले गंभिर आरोप लगाए।
“म्याक्सिमम सहुलियत दिन हामी तयार छौं। मन्त्रालय तयार छ,” उनले भने, “हाम्रो प्राधिकरणले पनि आयात अनुमति खोलिदिनुपर्यो। ऐनमा दिनुपर्छ भन्ने छ। तर नियमावलीले फरक गरेर कसेको छ। ऐन भन्दा नियमावली फरक हुन्छ ? अनि हाम्रो भुपेन्द्रजी त्यहि नियमावली समातेर बसेको छ। नियमावली नसमात्नुस्। मुद्दा लाग्छ भनेर डराउनुहुन्छ।”
मन्त्री गुरुङले इन्टरनेट सेवा प्रदायकहरुले सबै बाँकी बक्यौता रकम तिर्नुपर्ने भन्दै नतिर्ने कम्पनीहरु खारेजमा जाने चेतावनी दिए।
उनले पुराना कानूनहरुले हाल शासन गरिरहेको भन्दै मन्त्रालयअन्तरगतका कानूनहरु संसोधन र नयाँ ल्याउने बताए।
प्रकाशित: २९ माघ २०८१, मंगलवार