समय बुझ्नका लागि एआई र आईटी बुझ्नु पर्दछ, आईटी इज फर एभ्रीथिङ- प्रधानमन्त्री ओली

Technology Khabar २९ माघ २०८१, मंगलवार

समय बुझ्नका लागि एआई र आईटी बुझ्नु पर्दछ, आईटी इज फर एभ्रीथिङ- प्रधानमन्त्री ओली
Global IME Bank

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समय बुझ्नका लागि ‘एआई र आईटी’ बुझ्नु आवश्यक रहेको बताएका छन्। सुरक्षित इन्टरनेट दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा प्रम ओलीले यस्तो बताएका हुन्।

हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वव्यापी रुपमा  सुरक्षित इन्टरनेट दिवस मनाइन्छ। आज परेको यो दिवस नेपालमा पनि सूचना प्रविधिसम्बन्धी विविध कार्यक्रमका साथ मनाइँदैछ।

आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री ओलीले आईटीको दक्ष र सक्षम जनशक्तिबाट नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भएको बताउँदै यसको पूर्वाधारको रुपमा हरेक ठाउँमा सबैको पहुँच हुनेगरी इन्टरनेटको विस्तारलाई तीव्रताका साथ अगाडि बढाइरहेको अवगत गराएका छन्।

‘हाम्रा युवाहरुलाई दक्ष बनाउनु छ, सक्षम बनाउनु छ। हामीले मुलुकको समग्र रुपान्तरणको लागि डिजिटल नेपाल फ्रेमवर्क तयार गरिरहेका छौं। अहिलेको समय आइटी फर अल, आइटी फर विजनेश, आइटी फर एजुकेशन, आइटी फर इन्फर्मेशन हो। एआईको जमानामा भन्ने हो भने! आईटी इज फर एभ्रीथिङ साइन्स र टेक्नोलोजी हाम्रा पूर्खाहरुले उहिले सुरु गरिसकेको चिजमा हामी फेरि फर्किएर पुग्दैछौं’, विज्ञप्तिमा उल्लेख छ।

प्रम ओलीका विचार अनुसार हामी अरुले बनाएको मोबाइल चलाउँछौं, अरुको सफ्टवेयर चलाउँछौं, अरुका एप्स चलाउँछौं। अहिले भर्खर सरकारले नागरिक एपजस्ता कुराहरु सञ्चालनमा ल्याएर, चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लगायतका चिजहरु त्यसैमा समेटेर लान सकिने गरी विकास गरेको छ। जसले आजको समयलाई बुझ्दैन उसले प्रगति गर्दैन। समय बुझ्नका लागि एआइ बुझ्नु पर्दछ, आइटी बुझ्नु पर्दछ।

अबको समय आईटीले, साइन्स एण्ड टेक्नोलोजीले नेतृत्व गर्ने बताउँदै हामीले हरेक क्षेत्रमा साइन्स एण्ड टेक्नोलोजीको प्रयोगद्वारा परिवर्तन तथा आधुनिकीकरण गर्नुपर्ने उनको भनाई छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण लगायत सम्बद्ध निकायको भूमिका प्रभावकारी हुनुपर्ने उनले औंल्याए।

‘यस पटक मैले एउटा अभियान नै चलाउन खोजेको थिएँ। गत वर्ष एसइइको नतिजा अत्यन्तै न्यून रह्यो। पढाएका विद्यार्थीहरु मध्ये हाम्रो लगानी, अभिभावकहरुको लगानी, विद्यार्थीको मेहनत ४८ प्रतिशत मात्रै सफल हुनु र ५२ प्रतिशत असफलतामा जानु, यो भन्दा अप्रिय के हुन्छ? अहिले यस सम्बन्धमा सरोकारवालसँगको सहकार्यमा सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेको छु’, प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार ५७ हजारभन्दा बढी विद्यार्थी आजको दिनमा इन्टरनेटको माध्यमबाट पढाउन सकिएको छ। अब सरकारले सबै क्षेत्रमा इन्टरनेटको माध्यमबाट काम गरिरहेको साथै विकास निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाको काम र अनुगमन पनि इन्टरनेटकै माध्यमबाट भइरहेको छ।

‘इन्टरनेट दिवसका अवसरमा सबैले यसको उच्चतम सदुपयोग गर्दै यसबाट विकास निर्माणको काममा सहजता ल्याउन सकोस्, सबैमा शुभकामना गर्दछु’, प्रम ओलीको विज्ञप्तिमा उल्लेख छ।

Sajilo Visa

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया