Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
धरानमा सुरक्षित इन्टरनेट दिवसका अवसर पारेर अनलाइनबाट हुने यौन दुर्व्यवहारसम्बन्धी सडक नाटक प्रदर्शन कार्यक्रम गरिएको छ।
बालबालिकालाई अनलाइनबाट हुने बाल यौन दुर्व्यवहार हुनबाट बचाऔं भन्ने नारासहित धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरान सुनसरीको सहकार्यमा भ्वाइस अफ चिल्ड्रेन र धरान सोता क्लबले आयोजना गरेको बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारसम्बन्धी सडक नाटक धरानको भानुचोकमा प्रदर्शन गरेको हो।
पछिल्लो समय अनलाइन शिक्षालगायतका कार्यमा इन्टरनेट बढी मात्रामा प्रयोग भएसँग अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटना धेरै मात्रामा बढ्न थालेका छन्। यसै विषयलाई नाटकमा उतारिएको थियो। सडक नाटकले अहिलेको समाजमा भएको विकृति विसंगतिलाई समेटेको कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले बताए।
उनले भने, ‘बढ्दो इन्टरनेटको प्रयोगसँगै पछिल्लो समय तीव्र गतिमा दुरुपयोग भइरहेको छ। त्यसमा बालबालिकालाई धेरै असर गरिरहेको छ। ठूलाबडा मानिसले पनि यसको दुरुपयोग गरिरहेकाले समाजलाई नै नकारात्मक असर पुगेको छ। दुरुपयोग गर्नेलाई सजाय हुने नै कानुन बनाउन अति आवश्यक देखिएको छ।”
पछिल्लो समय धरानलगायत सबै ठाउँमा नै इन्टरनेटको दुरुपयोग गरेर बालबालिकालगायत सबैलाई असर गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए। अनलाइनबाट धेरै किसिमका अपराध पनि बढिरहेको उनको भनाइ छ। उनले भने, ‘महिला हिंसा, ठगी अपराध तथा लागुऔषध ओसारपसार सबैमा इन्टरनेटले प्रभाव परिरहेको छ।’
अनलाइनबाट हुने यौन दुर्व्यवहार र शोषणका घटना बढ्न थालेपछि बालबालिकाको पढाई, बानी व्यवहार, मानसिक तथा शारीरिक स्वास्थ्य, परिवारमा बेमेल, बालबालिका पर छोडेर हिँड्नेलगायतका समस्या हुने गरेका छन्। भ्वाइस अफ चिल्ड्रेन साइबर सेफ्टी परियोजनाका अधिकृत लीला भुजेलले यससम्बन्धी नीति नियम पनि कम भएको र प्रभावकारी नभएकाले भ्वाइस अफ चिल्ड्रेनले अनलाइन बाल यौन दुर्व्यवहार रोकथामको परियोजना सञ्चालनमा ल्याएको स्पष्ट पारिन्।
भ्वाइस अफ चिल्ड्रेनले वर्षभरि नै इटहरी धरानलगायत सुनसरीका विद्यालयमा अनलाइनबाट हुने यौन दुर्व्यवहार न्यूनीकरणसम्बन्धी कार्यक्रम शिक्षक, अभिभावक सङ्घ, बाल अधिकार समितिलाई पनि विभिन्न तालिम दिएर क्षमता विकासका कार्यक्रम गर्दै आएको अधिकृत भुजेलले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २८ माघ २०८१, सोमबार