Technology Khabar २६ माघ २०८१, शनिबार
काठमाडौं ।
कोरियामा रोजगारीको अनुभव भएका आप्रवासीहरूलाई नेपालमा उद्यमी बनाउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) द्वारा आयोजित आप्रवासी कामदारको स्टार्टअप प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
‘नेपाल आप्रवासी कामदार उद्यमशीलता प्रतियोगिता’ विषयक कार्यक्रम कोरिया सरकारले कोरियामा रोजगारीको अनुभव लिइ नेपाल फर्किएका व्यक्तिहरूको स्थिर पुनर्वासका लागि चरणबद्ध रूपमा सहयोगी भूमिका कार्यान्वयन गर्न लागिएको हो।
यस परियोजना सञ्चालन भएपश्चात् विगत एक वर्षमा नेपाली आप्रवासी कामदारको उद्यमशीलता क्षमतालाई सुदृढ गर्ने कार्यक्रमको मूल्याङ्कन गर्दै नौ जना उत्कृष्ट सहभागीले उद्यमशीलता विचार प्रस्तुत गर्ने प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा कोरियाको आधारभूत उद्यमशीलता शिक्षण पाठ्यक्रम, नेपालको वस्तु स्थितिमा उपयोगी पाठ्यक्रम, इन्क्युवेशन र स्टार्टअपसम्बन्धी विषय समावेश गरिएको थियो।
कोरिया सरकारले सन् २०२२ देखि नेपाली आप्रवासी कामदारलाई कोरियामा रोजगारमा जानुपूर्व तालिमदेखि फर्केपश्चात् व्यवसाय सुरू गर्न सहयोग गर्नेसम्म चरणबद्ध रोजगारी र उद्यमशीलता शिक्षा प्रदान गर्दै आएको छ। यसका लागि ८० लाख अमेरिकी डलरको बजेट लगानी गरेको छ। उद्यमशीलता तालिम पूरा गरेका स्टार्टअपहरूलाई स्टार्टअप पुँजी (ऋण) र वित्तीय सहयोगसँग जोड्न मद्दत गर्नेछ।
कोइकामार्फत सञ्चालन गर्ने यो परियोजना नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, द ब्रिज इन्टरनेशनल, कोरिया फेडरेशन अफ कम्युनिटी क्रेडिट कोअपरेटिभ, एमवाई एससीजस्ता कन्सोर्टियम संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ।
शुक्रबारको कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत पार्क थेयङ, नेपाल सरकार श्रम–रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डे, कोइका नेपाल कार्यालय प्रमुख खोङ मुहन र नेपाल स्टार्टअप इकोसिस्टमका प्रतिनिधिलगायतको उपस्थिति थियो।
उक्त अवसरमा, स्टार्टअपसम्बन्धी आफ्नो प्रस्तुति दिने प्रतियोगीहरूले योजनामा रहेको उत्कृष्ट उद्यमशीलता क्षमता प्रस्तुत गर्नुका साथै विभिन्न व्यावसायिक मोडेलहरू प्रस्तुत गरेका थिए। साथै कोरियामा कार्यरत हुँदा हासिल गरेको सीप, ज्ञान र क्षमताको उपयोग गरेर स्वदेश फर्केपछि सफल उद्यमशीलताका उदाहरणहरू समावेश गरेका थिए । नौ जना प्रतियोगीमध्येबाट पाँच जना उद्यमीलाई उत्कृष्ट उद्यमीका रूपमा छनोट गरिएको थियो। रासस
प्रकाशित: २६ माघ २०८१, शनिबार