विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति

Technology Khabar २६ माघ २०८१, शनिबार

विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ। नगरपालिका मातहत रहेका तेह्रओटा वडाबाट दुई जनाका दरले जनही एक लाख ५० हजारका दरले छात्रवृत्ति उपलव्ध गराएको हो।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई तीनवर्षे प्राविधिक शिक्षा हासिल गर्न प्रोत्साहनस्वरूप रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए। नगरपालिकाले विद्यार्थीको प्राविधिक शैक्षिक गुणस्तर वृद्धिका लागि पञ्चवर्षीय योजनाका साथ योजना कार्यान्वयन गर्दै आएको छ।

भानु नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) निर्माण र प्रयोग हुनुका साथै स्थानीय विषयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ।

कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक निर्माण गर्ने भानु गण्डकी प्रदेशमा पहिलो पालिका बनेको भानु नगर उपप्रमुख उमा गोतामेले जानकारी दिए।

आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क दिने सरकारको नीतिलाई कार्यान्वयन गर्नका लागि आधारभूत तह कक्षा १–८ सम्मका सबै परीक्षाको जिम्मा भानु नगरपलिकाले लिएको छ।

विद्यालयका सबै परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध गराइने भएको छ। आधारभूत तहका बालबालिकाले परीक्षाको नाउँमा कुनैपनि शुल्क तिर्नु नपर्ने सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का वडाध्यक्ष हरिहर उप्रेतीले बताए।

नेपाल सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रति दिनप्रति व्यक्ति रू १५ का दरले दिवाखाजाका लागि अनुदान दिइरहेकोमा भानु नगरपालिकाले रू पाँच थप गरी प्रतिव्यक्ति रू २० पुर्याइ कक्षा ६ सम्म विस्तार गरेको छ।

भानु नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता तथा कर्मचारीलाई नेपाल सरकारले तोके अनुरूपको न्यूनतम् पारिश्रमिक उपलब्ध गराइएको उनले बताए। रासस

Sajilo Visa

प्रकाशित: २६ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया