Technology Khabar २६ माघ २०८१, शनिबार
काठमाडौं ।
ग्लोबल (विश्वव्यापी) ट्याब्लेट ढुवानी सन् २०२४ मा ९ प्रतिशतले बढेको र वर्षिक रूपमा १४७.६ मिलियन इकाइमा पुगेको छ। क्यानालिसको सेल–इन सिपमेन्ट (ढुवानी) विश्लेषण अनुसार, अक्टोबर–डिसेम्बर अवधि (चौथो त्रैमासमा) कुल ३९.९ मिलियन इकाइ पुगेको र सन् २०२३ को चौथो त्रैमासको तुलनामा ५.६ प्रतिशत वृद्धि प्रतिनिधित्व गरेको उल्लेख छ।
एप्पलले गत वर्ष अनुमानित ५६.९ मिलियन ट्याब्लेट ढुवानी र ३८.६ प्रतिशत बजार हिस्साको साथ नेतृत्व गरेको उल्लेख छ। त्यसैगरी २७.८ मिलियन ढुवानी र विश्व बजारको १८.८ प्रतिशत हिस्साका साथ सामसङ दोस्रो स्थानमा आएको छ भने ह्वावे १०.४ मिलियन इकाइ ढुवानी र ७.३ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थानमा रहेको उल्लेख गरिएको छ।
लेनोभो आफ्नो १०.४ मिलियन शिपमेन्ट (ढुवानी) र ७.१ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थान कब्जा गर्नबाट चुकेको बताइएको छ। शाओमीले ९.२ मिलियन ढुवानी र ६.२ प्रतिशत बजार हिस्साको साथ शीर्ष–पाँचमा पर्न सफल भएको र प्रभावशाली ७३.१ प्रतिशत वार्षिक वृद्धि हासिल पनि गरेको छ। साथै शाओमीको उक्त उपलब्धि अमेजन र त्यसको फायर ट्याब्लेटलाई ग्लोबल शीर्ष पाँच सूचीबाट विस्थापित गर्न पर्याप्त भएको उल्लेख छ।
क्यानालिस विश्लेषकहरूका अनुसार, विश्वव्यापी पीसी बजार रिफ्रेस चक्रले विश्वव्यापी ट्याब्लेटको मागलाई सकारात्मक रूपमा असर गरेको बताइएको छ। यसबाहेक कर्पोरेट ट्याब्लेटको माग सन् २०२५ मा बढ्ने अपेक्षा गरिएको छ भने उपभोक्ता पक्षले सम्भवतः सीमित प्रदर्शनको सामना गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ माघ २०८१, शनिबार