Technology Khabar २६ माघ २०८१, शनिबार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात गरिएका सबै उत्पादनहरूमा १० प्रतिशत कर लगाएका छन् जुन मंगलबारदेखि लागू भएको छ।
चीनमा आफ्ना अधिकांश आईफोन, आईप्याड, म्याक र अन्य उत्पादनहरू उत्पादन गर्दै आएको एप्पलको लागि भने यो नराम्रो खबर हो। यसले एप्पल उपकरणहरूको मूल्यलाई कसरी असर गर्छ भन्ने अझै स्पष्ट छैन।
एप्पलले आफ्नो उत्पादनको केही भाग भारतमा सारेको र कम्पनीले अब त्यहाँ आईफोन प्रोहरू पनि निर्माण (बनाउन) सुरु गरिसकेको छ।
कम्पनीले आईफोन १७ सिरिजको तयारीको लागि भारतमा अब प्रारम्भिक निर्माण कार्य गरिरहेको उल्लेख छ। साथै भारतले स्मार्टफोनका लागि मुख्य कम्पोनेन्टहरूमा आयात शुल्क हटाएपछि एप्पलको प्रयासलाई सहयोग पुगेको उल्लेख गरिएको छ।
त्यसैगरी यस वर्षको अन्त्यसम्ममा आफ्नो उत्पादनको २५ प्रतिशत भारतमा सार्ने एप्पलको योजना रहेको उल्लेख गरिएको छ। त्यसैले एप्पलका अधिकांश उपकरणहरू अझै पनि १० प्रतिशत ट्यारिफको अधीनमा रहने भएका छन्।
एप्पलले ट्यारिफको बावजुद आफ्नो मुनाफा मार्जिनमा कटौती गरेर मूल्यहरू समान राख्न सक्नेछ वा आईफोन र अन्य उत्पादनहरू अमेरिकामा ल्याउनको लागि लाग्ने अतिरिक्त लागतको लागि आफ्नो उत्पादनहरूको मूल्य बढाउन सक्ने छ।
अमेरिकामा एप्पलको पक्कै पनि स्टक रहेको र नयाँ मूल्यहरू लागू हुन केही समय लाग्न सक्ने बताइएको छ। साथै ट्यारिफ मंगलबारबाट आयात गरिएका चीजहरूमा लागू हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ माघ २०८१, शनिबार