Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
एप्पलले हालै ‘इन्भाइट्स’ नामक नयाँ एप ल्याएको छ। एप्पल इन्भाइट्सको मुख्य विचार भनेको कुनै पनि कार्यक्रम वा अवसरका लागि अनुकूलित निमन्त्रणहरू सिर्जना गरी बाँडफाँड गर्न सक्नु हो। एपमा तपाईंले आफ्नो फोटो वा पृष्ठभूमि प्रयोग गरेर ‘निमन्त्रणा’को फोटो बनाउन सक्नुहुन्छ।
इमेज प्लेग्राउण्ड पनि इन्भाइट्समा समावेश छ, जसको मद्दतले तपाईं निमन्त्रणको लागि फोटो सिर्जना गर्न सक्नुहुन्छ। राइटिङ टूल्सजस्ता अन्य एप्पल इन्टेलिजेन्स सुविधाहरू पनि एपमा उपलब्ध छन्, जसले तपाईंलाई निमन्त्रणको सही सन्देश तयार गर्न सहयोग पुर्याउँछ।
इन्ग्याजेटका अनुसार इन्भाइट्स एपमा निमन्त्रणा सिर्जना गर्नका लागि भुक्तान गरिएको आईक्लाउड (अर्थात आईक्लाउड प्लस) योजना आवश्यक पर्छ। तपाईंले कति कार्यक्रम आयोजना गर्न सक्नुहुन्छ भन्नेमा कुनै सीमा छैन, तर प्रत्येक कार्यक्रममा अधिकतम १०० सहभागी मात्र समावेश गर्न सकिन्छ।
यी कार्यक्रमहरू क्यालेण्डर एपमा देखिने अपेक्षा गर्न सकिन्छ। क्यालेण्डर एपमा एप्पलले हालसालै केही परिवर्तनहरू गरेको छ जसमा रिमाइन्डर्सको समावेश र आईओएस १८ को साथसाथै अन्य नयाँ सुविधाहरू समावेश छन्।
कसैले पनि इन्भाइट्स एप वा वेबमार्फत निमन्त्रण स्वीकार गर्न सक्छ। त्यसका लागि एप्पल खाता वा एप्पल उपकरण आवश्यक पर्दैन। कार्यक्रमपछि फोटो र भिडियोहरू साझा गर्न शेयर्ड एल्बम थप्न सकिन्छ।
अझ रमाइलो कुरा के छ भने एप्पल म्युजिकमा सहकार्य गर्दै प्लेलिस्ट बनाउन सकिन्छ, जसले भेटघाटको माहोललाई अझ रमाइलो बनाउँछ। वेदर र म्याप्सको एकीकरणले अतिथिहरूलाई दिशानिर्देश र कार्यक्रमको दिनको मौसम जानकारी दिन्छ।
गोपनीयतामा पनि ध्यान दिइएको छ। होस्टहरूले निमन्त्रणमा आफ्नो घरको ठेगाना साझा गर्ने वा नगर्ने निर्णय गर्न सक्छन्। त्यस्तै, अतिथिहरूले आफ्नो विवरण अरूसँग कसरी देखाउने भन्ने विषयमा नियन्त्रण राख्न सक्छन्।
यो एप उपयोगी र रमाइलो देखिन्छ। शेयर्ड एल्बम र एप्पल म्युजिकको सहकार्य जस्ता सुविधाहरूले यसलाई परम्परागत र एकदम बोरिङ आउटलूक भएको निमन्त्रणभन्दा धेरै आकर्षक बनाउने इन्ग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: २४ माघ २०८१, बिहीबार