Technology Khabar २२ माघ २०८१, मंगलवार
काठमाडौं ।
स्पेसएक्सले आज बिहान (फेब्रुअरी ४) फ्लोरिडाको स्पेस कोस्टबाट अर्को समूहका स्टारलिंक उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फाल्कन ९ रकेटले १३ वटा डाइरेक्ट टू सेल क्षमता भएकासहित २१ वटा स्टारलिंक स्याटेलाइट केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान ५:१४ ईस्टर्न टाइम (१०:१४ जीएमटी, नेपाली समय अनुसार अपराह्न ३:५९) मा प्रक्षेपण गरेको हो।
फाल्कन ९ को पहिलो चरणले प्रक्षेपण भएको लगभग आठ मिनेटपछि पृथ्वीमा पुनः प्रवेश गरी एटलान्टिक महासागरमा रहेको स्पेसएक्सको ड्रोन जहाज “जस्ट रिड द इन्स्ट्रक्शन्स” मा सफलतापूर्वक अवतरण गरेको स्पेस डटकमले उल्लेख गरेको छ।
स्पेसएक्सको मिशन विवरणअनुसार यो बूस्टरको लागि यो २१औं प्रक्षेपण र अवतरण हो। अहिलेसम्मका यसको २० प्रक्षेपणमध्ये १६ स्टारलिंक मिशनका लागि थिए। फाल्कन ९ को माथिल्लो चरणले २१ स्टारलिंक उपग्रहहरूलाई प्रक्षेपण भएको ६५ मिनेटपछि निम्न पृथ्वी कक्ष (एलईओ) मा तैनाथ गर्नेछ।
स्पेसएक्सले २०२५ मा अहिलेसम्म १४ फाल्कन ९ मिशन प्रक्षेपण गरिसकेको छ, जसमा ९ स्टारलिंक मिशनहरू छन्। गत वर्ष, कम्पनीले १३० भन्दा बढी फाल्कन ९ प्रक्षेपणहरू गर्यो, जसको करिब दुई-तिहाइ स्टारलिंक नेटवर्क निर्माण गर्न समर्पित थिए। यो अहिलेसम्मको सबैभन्दा ठूलो उपग्रह समूह हो।
स्पेसएक्सले हाल लो अर्थ अर्बिट (एलईओ) मा करिब ७,००० स्टारलिंक उपग्रहहरू सञ्चालन गरिरहेको भनी खगोलभौतिक विज्ञ र उपग्रह ट्र्याकर जोनाथन म्याकडोवेलले जानकारी दिएका छन्।
प्रकाशित: २२ माघ २०८१, मंगलवार