“ब्लू गोस्ट” ल्याण्डरले पृथ्वीको कक्षबाट यसरी खिच्यो चन्द्रग्रहणका मनमोहक तस्बिर

Technology Khabar २२ माघ २०८१, मंगलवार

“ब्लू गोस्ट” ल्याण्डरले पृथ्वीको कक्षबाट यसरी खिच्यो चन्द्रग्रहणका मनमोहक तस्बिर
Global IME Bank

काठमाडौं ।

अब केही समयमै चन्द्रमामा पुग्न तयार फायरफ्लाई एरोस्पेसको “ब्लू गोस्ट” ल्यान्डरले सबैभन्दा सानो चन्द्र ग्रहणको तस्बिर खिचेको छ।

फायरफ्लाईले स्पेसएक्ससँग साझेदारी गर्दै “गोस्ट राइडर्स इन द स्काई” मिशन गत जनवरी १५ मा फाल्कन ९ रकेटमार्फत् नासाको केनेडी स्पेस सेन्टर फ्लोरिडाबाट प्रक्षेपण गरेको थियो।

त्यसपछि ब्लू गोस्ट पृथ्वीको कक्षमा रहँदै सिस्टम चेक गर्दै र चन्द्रमा तर्फ जान ट्रान्सल्युनर इन्जेक्सन बर्नको तयारी गरिरहेको स्पेस डटकमले उल्लेख गरेको छ।

तर यो महत्त्वपूर्ण कदम अघि ब्लू गोस्टले पृथ्वीको कक्षमा रहँदा पृथ्वीका आकर्षक तस्बिरहरू र यसको अन्तिम गन्तव्य चन्द्रमाको झलक पठाइरहेको छ। हालै यसले पृथ्वी र चन्द्रमाको संयुक्त तस्बिर खिच्न सफल भएको छ।

फायरफ्लाईले एक्स (पहिलेको ट्विटर) मा एउटन भिडियो साझा गर्दै ब्लू गोस्टबाट खिचिएको दृश्य प्रस्तुत गरेको छ जसमा टाढा चन्द्रमा पृथ्वीको चम्किलो प्रकाशले छेकिएको देख्न सकिन्छ।

पोस्टमा लेखिएको छ, “मेरो सानो ल्यान्डरले टाढा चन्द्रमाको झलक पाएको छ। ब्लू गोस्टको पृथ्वी र चन्द्रमाको अद्भुत दृश्य हेर्नुहोस्। हाम्रो #GhostRiders बाट अझै पोस्टकार्डका रुपमा प्रयोग गर्न मिल्ने क्षणहरू पर्खिरहेका छौं।”

“गोस्ट राइडर्स इन द स्काई ” फायरफ्लाईको चन्द्रमामा पहिलो अवतरण प्रयास हो। ब्लू गोस्टमा नासाका १० अनुसन्धान उपकरणहरू राखिएका छन्, जसले चन्द्रमाको वातावरणसम्बन्धी जानकारी दिन सहयोग गर्नेछन्।

यो मिशन नासाको कमर्सियल लुनर पेलोड सर्भिसेज (सीएलपीएस) कार्यक्रमको हिस्सा हो जसले आर्टेमिस कार्यक्रम मार्फत अन्तरिक्ष यात्रीलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ।

ब्लू गोस्टको प्रक्षेपणमा जापानी कम्पनी आईस्पेसद्वारा बनाइएको अर्को ल्यान्डर ” रेजिलियन्स ” पनि समावेश थियो। रेजिलियन्स र ब्लू गोस्ट दुवै चन्द्रमामा जाने भए पनि उनीहरूको मिशन समयरेखा फरक छ।

स्पेस डटकमका अनुसार रेजिलियन्सले चन्द्रमाको उत्तरी गोलार्धमा मेयर फ्रिगोरिस (“सी अफ कोल्ड”) क्षेत्रमा अवतरणको लक्ष्य राखेको छ। यसको यात्रा चार महिना लामो हुने अनुमान गरिएको छ। यसले नासाको सम्झौताअनुसार चन्द्रमाको धुलोको नमूना सङ्कलन गर्न एउटा मिनी-रोभर “टेनासियस” पनि लैजानेछ।

ब्लू गोस्ट भने एक महिनाभित्र चन्द्रमाको उत्तरपूर्वी भाग मेयर क्राइसियम (“सी अफ क्राइसेस”) मा अवतरण गर्ने योजना बनाइरहेको छ। ब्लू गोस्टको चन्द्रमामा दुई हप्ताको अवधि (एक चन्द्र दिन) हुनेछ, जहाँ यसले सीएलपीएसका १० पेलोडहरू सञ्चालन गर्नेछ। यो मिशनले चन्द्रमाको धुलो (रेगोलिथ) सम्बन्धी अनुसन्धानमा केन्द्रित हुनेछ।

दुई हप्तापछि सूर्य अस्ताएपछि सोलार पावरद्वारा सञ्चालित यो ल्यान्डर बन्द हुनेछ। अन्तिम ब्याट्री चार्ज प्रयोग गर्दै यसले चन्द्रमाको सूर्यास्त र चन्द्र सतहमा चुम्बकीय बलले धुलोलाई उत्तेजित गर्ने घटनाको तस्बिर खिच्नेछ जुन अन्तिम एपोलो मिशनमा देखिएको थियो।

Sajilo Visa

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार