Technology Khabar १८ माघ २०८१, शुक्रबार
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीयसहित ७ जनालाई पक्राऊ गरेको छ।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नेपालमा गैर-कानूनी रहेको अभौतिक मुद्रा क्रिप्टोकरेन्सीको संगठित रुपमा कारोबार तथा अनलाइन मार्फत् ठगी गर्ने गिरोहमा संलग्न रहेका ७ जनालाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान तथा कारबाही भइरहेको ब्यूरोले जनाएको छ।
पक्राऊ पर्नेहरु यसप्रकार छन्:
क्र सं | नाम | उमेर | लिङ्ग | स्थायी ठेगाना | अस्थायी ठेगाना |
१ | अनिल डंगौरा- मुख्य योजनाकार | २२ | पुरुष | कैलाली, वर्दगोरिया गापा-६ | काठमाडौै बुढानीलकण्ठ, गैरीगाउँ |
२ | अनिल विश्वकर्मा | २६ | पुरुष | कैलाली, वर्दगोरिया गापा-६ | कैलाली, वर्दगोरिया गापा-६ |
३ | पियुष श्रेष्ठ | २१ | पुरुष | काठमाडौै बुढानीलकण्ठ-८ | काठमाडौै बुढानीलकण्ठ-८ |
४ | आश्विन चौलागाईँ | १९ | पुरुष | दोलखा भीमेश्वर-४ | काठमाडौै कागेश्वरी मनहरा-८ |
५ | सत्यम कुमार सहनी | २२ | पुरुष | रौतहट गौर ९ | कामनपा ३१, बानेश्वर काठमाडौ |
६ | रोशन कुमार | २७ | पुरुष | बिहार भारत | कामनपा २५, काठमाडौ |
७ | मुन्ना कुमार | ३६ | पुरुष | बिहार भारत | कामनपा ९, काठमाडौ |
पक्राऊ पर्नेहरुको साथबाट सुपर कम्प्युटर सीपीयू २ थान, विभिन्न ब्राण्डको मोबाइल १३ थान, विभिन्न, विभिन्न व्यक्तिको नाममा जारी भएको विभिन्न बैंकहरूका चेक १९ थान तथा नगद रु. ५ लाख ५०,००० बरामद भएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी सुधिर राज शाहीले जानकारी दिए।
ब्यूरोका अनुसार उक्त स्क्यामर समूहले विभिन्न व्यक्तिहरुलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोवार गर्ने गरेको पाइएको छ। यसैगरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरुलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनी उनीहरुको ओटीपी नम्बर मागेर अनधिकृत रुपमा बैंक तथा डिजिटल वालेटहरूमा पहुँच पुर्याई रकम ठगी गर्ने गरेका पाइएको छ।
डिजिटल फरेन्सिक ल्याबका अनुसार हालसम्म यो समूहले ३ अर्ब रुपैयाँ ठगी गरेको पाइएको सीआईबीले जनाएको छ।
यसबाहेक व्हाट्सएप, टेलिग्राम, फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा अनलाइन जब, घरैमा बसेर धेरै रकमहरु कमाउन सकिने, अनलाइन जुवा आदिजस्ता आकर्षक विज्ञापनहरु विभिन्न लिंकबाट पठाई साइबर फिशिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्याई रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पनि पाइएको छ।
प्रहरीका अनुसार ठगी गरेको रकम थोरै समयमै विभिन्न तहमा विभिन्न व्यक्तिहरुको बैंक तथा डिजिटल वालेटहरुमा ट्रान्सफर गर्ने गरेको पाइएको छ।
विभिन्न सामाजिक सञ्जालमा आकर्षक विज्ञापनहरु एवं अन्य माध्यमबाट मानिसहरुलाई प्रलोभनमा पारी उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरुमा खाता खोल्न लगाइ उक्त खाता आफुले प्रयोग गर्ने (एकाउन्ट कम्प्रोमाइजिङ) र प्रयोग गरे वापत निश्चित रकम दिने गरेको उल्लेख छ।
साथै यस्ता खाताहरुमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरीद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको पाइएको छ।
‘यी समूहमा रहेका व्यक्तिहरुले ठगी गरेको रकमलाई क्रिप्टोकरेन्सी, गेम पोइन्ट किन्न प्रयोग गर्ने गरेको पाइएको, समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरुको आवश्यकतानुसार नेपाल भित्र र बाहिर डिजिटल/क्रिप्टोकरेन्सी, गेम पोइन्ट एवं भौतिक मुद्रा समेत कारोबार गर्ने गरेको साथै स्क्यामर समूहका सदस्यहरूलाई ठगी गरेको रकम तोकिएको खातामा रकम जम्मा गर्ने र सो वापतको क्रिप्टोकरेन्सी लिनेसम्म मात्र थाहा हुने गरेको पाइएको’ प्रवक्ता शाहीले जानकारी दिए।
विदेशमा रहेका नेपालीहरुले कमाएको गैह्र बैंकिङ माध्यमबाट नेपाल पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारी विदेशमा रहेका यस्ता आपराधिक समुहका एजेन्ट मार्फत रकम लिने र नेपालमा रहेका नातेदारहरुको खातामा माथि उल्लेखित तवरबाट जम्मा गरेका रकमहरु हालिदिने गरेको उनले बताए।
प्रकाशित: १८ माघ २०८१, शुक्रबार