Technology Khabar १४ माघ २०८१, सोमबार
काठमाडौं ।
स्पेसएक्सले सन् २०१८ मा अन्तरिक्षमा पठाएको टेस्ला रोडस्टरलाई गल्तीले एउटा अनुसन्धान केन्द्रले एस्टेरोइड अर्थात् धूमकेतु रूपमा सूचीबद्ध गरेको थियो। खगोलशास्त्रीहरूले पछि त्यो सूची मेटाएका छन्।
यो महिनाको सुरुवातमा हार्वर्ड-स्मिथसोनियन केन्द्रको माइनर प्लानेट सेन्टर (एमपीसी) ले टेस्ला रोडस्टरलाई २०१८ CN41 को रूपमा नामाकरण गरेको थियो। यो पृथ्वीबाट १,५०,००० माइल (२,४०,००० किलोमिटर) भन्दा कम दूरीमा देखिएको थियो र यसलाई नियर-अर्थ अब्जेक्ट (एनईओ) मानिएको एस्ट्रोनोमीलाई उद्धृत गर्दै टेस्लाराटीले उल्लेख गरेको छ।
तर एमपीसीले पछि २०१८ CN41 रोडस्टर रहेको र एस्टेरोइड नभएको भनेर पहिचान गरेपछि त्यसलाई अभिलेखबाट हटाएको जानकारी दिएको छ। समाचार अनुसार टेस्ला समुदायलाई पछ्याउने धेरैलाई मस्क र टेस्लाले २०१८ मा स्पेसएक्सको फाल्कन हेभी बूस्टर प्रयोग गरेर सीईओको मूल रोडस्टर अन्तरिक्षमा पठाएका थिए भन्नेबारे थाहा छ।
“मेरो कार पृथ्वी र मङ्गलको कक्षमा घुमिरहेको छ,” मस्कले यो समाचारमा प्रतिक्रिया जनाउँदै एक्समा लेखे र मुस्कानसहितको इमोजी थपे।
रोडस्टरमा “स्टारम्यान” नामक डमी र केही क्यामेरा पनि जोडिएको छ, जसको फुटेज स्पेसएक्सले पहिले साझेदारी गरेको थियो।
यसबारे आईबीसी ग्रुपका संस्थापक मारियो नाफलले पनि एक्स अकाउन्टमा व्यङ्ग्यात्मक हिसाबले पोस्ट गरेका छन्
स्पेसएक्सले फेब्रुअरी २०१८ मा फाल्कन हेभी प्रयोग गरेर रोडस्टर प्रक्षेपण गरेको थियो। यो यस्तो कक्षमा छ, जसले कुनै दिन मङ्गल वा त्यसभन्दा टाढा पुग्न सक्ने अनुमान गरिएको छ।
रोडस्टरको प्रक्षेपणपछि स्पेसएक्सले आफ्ना रकेट कार्यक्रमहरू विकास गर्दै आएको छ। मस्कको नेतृत्वमा रहेको यो रकेट कम्पनीले अहिले आफ्ना पुन:प्रयोगयोग्य स्टारशिप रकेटहरूको नियमित परीक्षण गरिरहेको छ। कम्पनीले हालै सातौं पटक यो रकेट प्रक्षेपण गर्यो, यद्यपि आरोहणको क्रममा रकेट गुमेको थियो।
कम्पनीले टेक्सासको ब्यास्ट्रोपमा आफ्ना सुविधाहरू विस्तार गरिरहेको छ, जसले २०२५ सम्ममा स्टारलिङ्क स्याटलाइट इन्टरनेट प्रणालीको उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको टेस्लाराटीले उल्लेख गरेको छ।
प्रकाशित: १४ माघ २०८१, सोमबार