Technology Khabar ११ माघ २०८१, शुक्रबार
काठमाडौं ।
आन्तरिक राजस्व विभागको सफ्टवेयर ‘एकिकृत कर प्रणालीमा रहेको करदाता ‘भाटभटेनी सुपरमार्केट’ को यूजर आईडी र पासवर्ड ह्याक गरेर कर लगायतका रकम हेरफेर गर्ने दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा पर्वत जिल्लाको बिहादी गापा ३ घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भिमसेन थापा गापा ४ स्थायी घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने २२ वर्षीय परिण पाण्डे रहेका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी सुधिर राज शाहीले जानकारी दिए।
‘भाटभटेनी सुपरमार्केट’ को नाममा अस्वाभाविक कर विवरण पेस गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व विभाग, लाजिम्पाटले गत पौष २५ गतेको पत्र मार्फत अनुरोध गरेपछि ब्यूरोले अनुसन्धान गरेर उनीहरुलाई पक्राऊ गरेको बुझिएको छ।
पक्राऊ परेका उनीहरुको साथबाट ल्यापटप ३ थान, मोबाइल २ थान तथा सीपीयू, वाईफाई राउटर र डीभीआर एक-एक थान बरामद गरिएको छ।
लेखापरीक्षण गर्ने निजी फर्म ‘बिहादी बिजनेश म्यानेजमेण्ट’ चितवनमा आबद्ध उनीहरुलाई गत माघ ५ गते चितवनको भरतपुर महानगरपालिका ३ बाट ‘विद्युतीय कारोबार ऐन, २०६३’, परिच्छेद ९ (कम्प्यूटर सम्बन्धी) कसूरमा पक्राऊ गरिएको प्रहरीले जनाएको छ।
उनीहरु भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानबाट थाहा लागेपछि जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरु संलग्न कार्यालयबाट पक्राउ गरी बरामद विद्युतीय उपकरणहरु ब्यूरोमा पठाएको थियो।
उक्त दिन शनिबार परेकाले उनीहरुमाथि ६ गते आइतबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्य:
‘पक्राउ प्रतिवादी सन्तोष पराजुली समेतले आन्तरिक राजस्व कार्यालयको एकिकृत कर प्रणाली (Integrated tax system) सूचनामा पहुँच पुर्याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायरा भित्र आउने जम्मा कारोबार रकम रु.२,३४,१६,४२,८१६।- (दुई अर्ब चौंतीस करोड सोह्र लाख बयालिस हजार आठ सय सोह्र) को राजस्व कर दायित्व रु. ६,२६,९४,०१९।- (छ करोड छब्बीस लाख चौरानब्बे हजार उन्नाईस) लाई परिवर्तन तथा हेरफेर गरी रु.१३,०९,५९,६०९ ।- (तेह्र करोड नौ लाख उनन्साठी हजार छ सय नौ) गलत तथ्याङ्क करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत रुपमा प्रविष्ट गर्ने कार्य गरेको देखिएको’, प्रहरीले उल्लेख गरेको छ।
ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा कसुरमा संलग्न व्यक्तिहरुले आफू संलग्न अडिट फर्मको तर्फबाट विभागको पोर्टलमा गएर विभिन्न करदाताहरुको कारोबारको विवरण आफू अनुकुल करदाताहरुको यथार्थ विवरण भन्दा बढी वा कम (फरक) हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कसैलाई हानी नोक्सानी पुर्याउन र लाभ लिन खोज्ने उद्देश्यले अभियुक्तहरुले उक्त कार्य गरेको पाइएको हो।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार