मेटाको परिमार्जित विज्ञापनरहित सदस्यता सेवाले ईयुको गोपनीयता कानून उल्लङ्घन गर्ने सम्भावना

Technology Khabar ११ माघ २०८१, शुक्रबार

मेटाको परिमार्जित विज्ञापनरहित सदस्यता सेवाले ईयुको गोपनीयता कानून उल्लङ्घन गर्ने सम्भावना
Global IME Bank

काठमाडौं ।

मेटा प्लेटफर्म्सको परिमार्जित विज्ञापनरहित सदस्यता सेवाले युरोपेली युनियनका उपभोक्ता र गोपनीयता कानुन मात्र नभई प्रतिस्पर्धा नियमसमेत उल्लंघन गर्न सक्ने सम्भावना रहेको युरोपियन कन्जुमर अर्गनाइजेशन (बीईयूसी) ले बिहीबार जनाएको छ।

यस संस्थाले अमेरिकी प्रविधि कम्पनीविरुद्ध नियामक निकायलाई कारबाही गर्न आग्रह गरेको छ।

मेटाले २०२३ मा फेसबुक र इन्स्टाग्रामका लागि शुल्क आधारित सेवा सुरु गरेको थियो। त्यसपछि, गत वर्ष युरोपेली प्रयोगकर्तालाई कम व्यक्तिगत विज्ञापन प्राप्त गर्ने र शुल्कमा ४०% कटौतीको विकल्प दिएको रोयटर्सले उल्लेख गरेको छ।

“मेटाको पछिल्लो नीति उपभोक्ता र डाटा संरक्षण निकायहरू तथा युरोपेली आयोगले छिटो छानबिन गर्न आवश्यक छ। उपभोक्तालाई जोगाउन तत्काल र प्रभावकारी कदम चाल्नुपर्छ,” बीईयूसीका प्रवक्ताले बताएका छन्।

बीईयूसीले मेटामाथि भ्रामक अभ्यास र अस्पष्ट सर्तहरूले प्रयोगकर्तालाई आफ्नो मनपर्ने विकल्पतर्फ आकर्षित गरेको आरोप लगाएको छ।

यस उपभोक्ता समूहले प्रयोगकर्ताले आफ्नो डाटा प्रशोधन गर्न स्वतन्त्र रूपमा सहमति दिन नसक्ने र मेटाले प्रयोगकर्ताबाट संकलन गरिने डाटाको परिमाण न्यूनतम नगरेको पनि बताएको छ।

बीईयूसीले व्यक्तिगत डाटा प्रयोग गर्न अस्वीकार गर्ने प्रयोगकर्तालाई मेटाले सेवाको गुणस्तर घटाएको आरोपसमेत लगाएको छ।

गत वर्षको परिवर्तन युरोपेली नियामकको मागअनुसार गरिएको मेटाले बताएको छ। कम्पनीले गत जुलाईमा डिजिटल मार्केट्स एक्टको उल्लङ्घन गरेको आरोपमा युरोपेली प्रतिस्पर्धा नियामकबाट मुद्दा खेपिरहेको छ। यसमा मेटाको शुल्क आधारित विज्ञापनरहित सेवा प्रयोगकर्ताका लागि बाध्यात्मक विकल्प रहेको दावी गरिएको छ।

Sajilo Visa

प्रकाशित: ११ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार