Technology Khabar १० माघ २०८१, बिहीबार
काठमाडौं ।
सन् २०१५ मा ब्लगिङ साइट टमब्लरले जीआईएफ सर्च सुविधा टमब्लर टीभीलाई प्रयोगात्मक उत्पादनको रूपमा लन्च गरेको थियो। अब अमेरिकामा टिकटक प्रतिबन्धले छोटो भिडियो एपको भविष्य अनिश्चित बनाइरहेका बेला टमब्लरले टमब्लर टीभीलाई सबै प्रयोगकर्ताहरूका लागि स्ट्याण्डर्ड सुविधाका रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।
कम्पनीले मंगलबार घोषणा गर्दै टमब्लर ल्याब्सबाट यो प्रयोगात्मक परियोजना अब मुख्य सुविधाको रूपमा सबैतिर लागू हुने जानकारी दियो। नयाँ प्रयोगकर्ताहरूले एपमा यो सुविधा तेस्रो स्थानमा देख्न सक्नेछन् भने पुराना प्रयोगकर्ताहरूले आफ्नो ड्याशबोर्ड ट्याब्सको सेटिङमा गएर यसलाई अन गर्न वा बन्द गर्न सक्नेछन्।
टेकक्रञ्चका अनुसार टमब्लर टीभीलाई करिब १० वर्षपछि प्रयोगात्मक अवस्थामा राखेर मुख्य सुविधामा परिणत गर्नुको मुख्य कारण टिकटकको विकल्प खोज्ने माग हो। अमेरिकामा चिनियाँ स्वामित्व भएका एपहरूमा प्रतिबन्ध लगाउने कानुनपछि टिकटक जस्ता एपहरूको विकल्पको खोजी बढेको छ।
यद्यपि प्रतिबन्ध कार्यान्वयन हाल रोकिएको छ, टिकटक ले अमेरिकामा सञ्चालन जारी राख्नका लागि कुनै सम्झौतामा पुग्ने वा नपुग्ने भन्ने अझै स्पष्ट छैन।
जनवरी १९ मा टिकटक प्रतिबन्धको दिन टम्ब्लरमा प्रयोगकर्ताहरूको संख्या उल्लेखनीय रूपमा बढेको कम्पनीका प्रवक्ताले बताए। सोही दिन आईओएस एप इन्स्टलमा ३५ प्रतिशत वृद्धि र नयाँ प्रयोगकर्ताहरूको कम्युनिटिजमा सामेल हुने संख्या ७० प्रतिशतले बढेको थियो।
कतिपय नयाँ प्रयोगकर्ताहरूले टिकटक भिडियोहरू ब्याकअप गर्न र साझा गर्नका लागि टिकटक रिपोजिटरीजस्ता टम्ब्लर कम्युनिटिज स्थापना गरे। टिकटक रेफ्युजीज नामक अर्को कम्युनिटि पनि नयाँ र पुराना प्रयोगकर्ताहरूका लागि सक्रिय देखिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
तर टिकटकसँग प्रतिस्पर्धा गर्न टम्ब्लर टीभी कमजोर देखिन्छ। ल्याब्समा रहेको बेला यसमा सुधार गरिए पनि लाइटबक्स सपोर्ट, इम्प्रुभ्ड स्क्रबिङ र भिडियो समर्थन जस्ता – अन्तिम उत्पादन टिकटक को जस्तो प्रभावकारी छैन, जहाँ सिर्जनात्मक सामग्री प्रमुख हुन्छ।
मोबाइलमा टम्ब्लर टीभीले भर्टिकल स्वाइपमार्फत आर्ट, स्पोर्ट्सजस्ता च्यानल ब्राउज गर्न सुविधा दिन्छ। तर यसमा देखिने जीआईएफहरू प्रायः धमिलो हुन्छन्, र भिडियोहरू प्रायः तेर्सो पारेर हेर्नका लागि उपयुक्त ढाँचामा छैनन्।
यद्यपि, टिकटक प्रयोगकर्ताहरूले टम्ब्लरमा स्थानान्तरण गरेमा टम्ब्लर टीभीले केही हदसम्म परिचित अनुभव दिन सकोस् भन्ने आशा कम्पनीले गरेको छ। तर टिकटक हाल अमेरिकामा पुनः अनलाइन भएकोले, ब्याकअप एपको माग घट्न सक्ने बताइएको छ।
प्रकाशित: १० माघ २०८१, बिहीबार