Technology Khabar १० माघ २०८१, बिहीबार
काठमाडौं ।
ट्रूकलरले आजदेखि आईओएस प्रयोगकर्ताका लागि रियल टाइम कलर आईडी जानकारी उपलब्ध गराउने अपडेट सार्वजनिक गरेको छ। यसअघि यो सुविधा एण्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो।
यो सुविधा लागू गर्न ट्रूकलरले आईओएस १८ मा एप्पलले उपलब्ध गराएको लाइभ कलर आईडी लूकअपको उपयोग गरेको हो। यसबाट तेस्रो पक्षका एपलाई कलरको जानकारीका लागि आफ्ना सर्भरमा सुरक्षित रूपमा जानकारी प्राप्त गर्न सकिन्छ।
यो स्वीडिश कम्पनीले नोभेम्बर २०२४ मा सह-संस्थापक एलन मामेदी र नामी ज़रिंगहालमले दैनिक सञ्चालनबाट बाहिरिएपछि ल्याएको पहिलो ठूलो अपडेट रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।
हाल ट्रूकलरका २.६ मिलियनभन्दा बढी ग्राहक छन्, जसमा ७५०,००० मात्र आईओएस मा छन्। तर, ट्रूकलरको कुल आम्दानीको ४० प्रतिशत आईओएस सदस्यताबाट आउने गर्दछ।
आईओएस मा ट्रूकलरले एण्ड्रोइडभन्दा पाँच गुणा धेरै ग्राहकलाई प्रिमियम योजना तर्फ आकर्षित गर्दछ भने आईफोन सदस्यताबाट ८० प्रतिशत बढी आम्दानी गर्ने गर्दछ।
आईफोनको महत्त्वलाई ध्यानमा राख्दै ट्रूकलरले आफ्नो आईओएस एपलाई निरन्तर सुधार गर्दै आइरहेको छ। सन् २०२२ मा, ट्रूकलरले आईओएस एप पुन: सुरू गरेर राम्रो स्पाम पहिचानको लागि केन्द्रित गर्यो। यसका लागि एप्पलले एपलाई बढी नम्बरहरू स्थानीय रूपमा स्टोर गर्न अनुमति दिएको थियो।
तर भारतजस्ता देशहरूमा कलिङ गतिविधि धेरै भएकाले मात्र अफलाइन डाटाबेस पर्याप्त नभएको ट्रूकलरका प्रोडक्ट डाइरेक्टर नकुल काब्राले बताए।
भारतमा ट्रूकलरले सीएनएपी अर्थात् कलिङ नेम प्रेजेन्टेशन जस्तो सेवाको चुनौती सामना गरिरहेको छ जसलाई स्थानीय टेलिकमहरूले स्पाम रोक्न सुरू गरेका छन्। यसले भविष्यमा ट्रूकलरका लागि प्रतिस्पर्धा सिर्जना गर्न सक्ने देखिन्छ।
सन् २०२३ मा ट्रूकलरले आईओएस एपमा लाइभ कलर आईडी अनुभव थपेको थियो। तर, यसमा सिरीको प्रयोग गरेर थप कदम लिनुपर्ने भएकाले यो वास्तविक समयको थिएन।
आईओएस १८ भन्दा पहिले ट्रूकलरले आईओएसमा सीमित नम्बरहरूको स्थानीय सूचीमा निर्भर रहनु परेको थियो। तर, नयाँ सुविधाको लागि, ट्रूकलरले नयाँ सर्भर आर्किटेक्चर र आईओएस का लागि अलग, इनक्रिप्टेड डाटाबेस बनाएको छ।
एप्पलको फोन एपले यो डाटाबेसमा एन्क्रिप्टेड अनुरोधहरू पठाउँछ र क्लाइन्ट आईफोनमा मात्र जानकारी डिक्रिप्ट गरेर वास्तविक समयमा कलर आईडी देखाउँछ। यस प्रक्रियालाई “होमोमोर्फिक एन्क्रिप्सन” भनिन्छ।
प्रकाशित: १० माघ २०८१, बिहीबार