प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारी अनुत्तीर्ण

Technology Khabar ८ माघ २०८१, मंगलवार

प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारी अनुत्तीर्ण
ट्राफिक प्रहरीले सवारी साधन जाँच गर्दै। फाइल तस्वीर/सांकेतिक
Global IME Bank

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले काठमाडौं उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन्।

महानगरले सोमबार चक्रपथको सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारीसाधनको प्रदूषण परीक्षणमा गर्दा ३१ वटा (७८ प्रतिशत) अनुत्तीर्ण भेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। त्यसैगरी महानगरले माघ ६ गते टेकुमा ४० वटा सवारीसाधन परीक्षण गर्दा ३३ वटा अनुत्तीर्ण भेटिएका थिए।

महानगरद्वारा पुस २९ गतेबाट थालिएको सवारीसाधनको प्रदूषण परीक्षणको क्रममा सोमबारसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारीसाधनको जाँच भएको छ। यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी अनुत्तीर्ण भेटिएको हो।

यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको महानगरले जनाएको छ।

वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारीसाधनबाट निस्कने प्रदूषक तत्त्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत जाँच गरिरहेको छ।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: ८ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार