Technology Khabar ७ माघ २०८१, सोमबार
काठमाडौं ।
एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको र विभागीय कारबाही थालिएको बताएको छ।
चितवन जिल्लाको भरतपुर मा.न.पा.–११ स्थित बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
सार्वजनिक भएको भिडियोमा ‘कसलाईफोन गर्ने? पावर देखाको?ल गर फोन’ भन्दै एक प्रहरी एक युवकतिर दगुरेर लात्तै लात्ताले हान्छन् र पछारिएपछि पनि अझ चोटिलो तरिकाले अनुहारमा समेत निर्मम तरिकाले भकुरिरहेको देखिन्छ।
ती युवकले प्रहरीलाई के भने वा गरे र यो अवस्थासम्मको शुरुवात कसरी भयो भन्ने भिडियोमा देखिँदैन र प्रहरी प्रधान कार्यालयको सूचनामा पनि उल्लेख छैन। प्रहरीको सूचनामा गस्ती गर्ने क्रममा कुटपिट भएकोसम्म उल्लेख छ।
सामाजिक सञ्जालमा प्रहरीको यो हर्कतमाथि प्रयोगकर्ताहरुले नराम्रा कमेन्ट गरेका छन् भने केही कमेन्टहरु प्रहरीले यस्ता व्यक्तिलाई तह लगाएकोमा स्याबसी भन्ने खालका पनि छन्। भिडियो विभिन्न व्यक्ति तथा पेजहरुले शेयर गरेका छन्। त्यसैमध्ये विशाल आवाज नामक फेसबुक पेजमा राखिएको भिडियो तलको लिंकबाट हेर्न सकिन्छ।
जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
‘पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने नेपाल प्रहरीको नीति अनुरुप घटनाको सत्य–तथ्य जाँचबुझ गर्ने प्रयोजनार्थ मिति २०८१।१०।०७ गते जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरेको’, सूचनामा उल्लेख छ।

प्रकाशित: ७ माघ २०८१, सोमबार