कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको गुनासो आएकोले राष्ट्रिय परिचयपत्र अनिवार्य: सञ्चारमन्त्री गुरुङ

Technology Khabar ७ माघ २०८१, सोमबार

कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको गुनासो आएकोले राष्ट्रिय परिचयपत्र अनिवार्य: सञ्चारमन्त्री गुरुङ
सञ्चार मन्त्री गुरुङ। फाइल तस्बिर।
Global IME Bank

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने गरेको जनगुनासोपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताएका छन्।

उनले आइतबार क्व्होलासोथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयको ५०औँ स्वर्णजयन्ती कार्यक्रम उद्घाटन गर्दै विकास र सुशासनको गति बढाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको बताउने क्रममा राष्ट्रिय परिचयपत्रको अनिवार्यताबारे प्रस्ट्याएका हुन्।

“मुलुक पञ्चायत, बहुदल, युद्ध हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि काम गर्ने अवस्था पुरानै छ। कानुनको कुरा पनि त्यही हो। यसकारण ऐन, कानुनमा आवश्यक संशोधन गरेर कामको गति बढाउन सरकारले अध्यादेश ल्याएको हो”, मन्त्री गुरुङले भने।

उनले गणतन्त्रको विकल्पमा समृद्ध गणतन्त्र र लोकतन्त्रको विकल्पमा समृद्ध लोकतन्त्र मात्र हुने भन्दै यस्तो व्यवस्थामा पनि जनताले सहज रूपमा सेवा पाउन नसक्ने अवस्था अन्त्यका लागि अध्यादेश उपयोगी हुने धारणा राखे।

सञ्चारमन्त्री गुरुङले थपे, “मुलुकमा जनताले अझै पनि सहज रूपमा छिटोछरितो र भनसुनबिना सेवा पाउन नसकेको गुनासो सबैले सुनिरहेकै छौँ। अध्यादेश जारी भएसँगै ती समस्या हल गर्न सहज हुने हाम्रो अपेक्षा छ।”

गण्डकी प्रदेशका अर्थ मामिलामन्त्री डा टकराज गुरुङले सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, बिजुली पर्यटनलगायत क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बताए। त्यस अवसरमा उक्त विद्यालयमा सूचना प्रविधि कक्षासमेत स्थापना गरियो।-रासस

Sajilo Visa

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार