डोनाल्ड ट्रम्प सत्तामा आएको केही समयमा क्रिप्टोकरेन्सीप्रति सहज बन्ने आकलन

Technology Khabar ६ माघ २०८१, आईतवार

डोनाल्ड ट्रम्प सत्तामा आएको केही समयमा क्रिप्टोकरेन्सीप्रति सहज बन्ने आकलन
Global IME Bank

काठमाडौं ।

आज पदस्थापन गर्दै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको प्रारम्भिक दिनहरूमा क्रिप्टोकरेन्सी कम्पनीहरूले सामना गर्ने नियामकीय बोझ घटाउन र डिजिटल सम्पत्ति अपनत्वलाई प्रोत्साहन दिन कार्यकारी आदेश प्रयोग गर्ने योजना बनाउँदै रहेको बुझिएको छ।

चुनावी अभियानका क्रममा आफूलाई “क्रिप्टो राष्ट्रपति” को रूपमा प्रस्तुत गरेका ट्रम्पले गत वर्षको जुलाईमा प्रस्तावित एक विचारअनुसार क्रिप्टो परामर्श परिषद गठन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। यो जानकारी गोप्य छलफलमा सामेल दुई स्रोतहरूले दिएका रोयटर्सले उल्लेख गरेको छ।

बिहीबार ब्लुमबर्ग न्यूजले ट्रम्पले क्रिप्टो परिषद गठन गर्ने कार्यकारी आदेश जारी गर्ने योजना बनाएको पहिलो पटक रिपोर्ट गरेको थियो। उक्त परिषदले सरकारलाई क्रिप्टोमैत्री नीति बनाउन सल्लाह दिनेछ। परिषदमा करिब २० सदस्य हुन सक्ने स्रोतहरू बताउँछन्।

ट्रम्पका सल्लाहकारहरूले सन् २०२२ को “एसएबी १२१” नामक लेखाङ्कन निर्देशन खारेज गर्न सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनलाई निर्देश दिन कार्यकारी आदेशको प्रयोग गर्ने विषयमा पनि छलफल गरेका छन्। यस निर्देशनका कारण केही कम्पनी विशेषगरी बैंकहरूले तेस्रो पक्षको तर्फबाट क्रिप्टोकरेन्सी राख्न धेरै महँगो हुने गुनासो गरेका थिए।

साथै ट्रम्पले “अपरेसन चोक पोइन्ट २.०” अन्त्य गर्न आदेश दिने अपेक्षा गरिएको छ। यो शब्द क्रिप्टो कार्यकारीहरूले बैंक नियामकहरूले क्रिप्टो कम्पनीहरूलाई परम्परागत वित्तीय प्रणालीबाट निकाल्न बैंकहरूलाई सेवा दिनबाट रोक्न निर्देशन दिएको आरोप लगाउँदै प्रयोग गरेका हुन्। बैंक नियामकहरूले भने यस्तो कुनै प्रयासको अस्तित्व अस्वीकार गरेका छन्।

ट्रम्पका योजना कार्यकारी आदेशद्वारा अघि सारिने भए पनि, यी आदेशहरू अलग-अलग वा एकसाथ हुने जानकारी सुनिश्चित हुन सकेको छैन। तर स्रोतहरूले नयाँ प्रशासनले डिजिटल सम्पत्ति अपनत्वको पक्षमा स्पष्ट संकेत पठाउने उद्देश्य रहेको बताएका छन्।

यदि सम्बन्धित नियामकहरूले ट्रम्पका नीति निर्देशनहरू कार्यान्वयन गरेमा, यसले क्रिप्टोकरेन्सीलाई मुख्यधारमा ल्याउने सम्भावना रहेको क्रिप्टो तथा नियामक विशेषज्ञहरूको भनाइ छ।

Sajilo Visa

प्रकाशित: ६ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार