Technology Khabar ६ माघ २०८१, आईतवार
काठमाडौं ।
इन्जिनियरहरूले दैनिक ४० माइल (६४ किलोमिटर) सम्म सौर्य ऊर्जा प्रयोग गरेर चल्न सक्ने प्रोटोटाइप विद्युतीय सवारी साधन (ईभी) प्रदर्शन गरेका छन्।
नयाँ सौर्य ऊर्जाबाट चल्ने यो कारको नाम एप्टेरा लञ्च इडिशन राखिएको छ। यसले एक पटक चार्ज गर्दा ४०० माइल (६४० किलोमिटर) सम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्छ। कम्पनीका प्रतिनिधिहरूका अनुसार, उत्पादनका लागि तयार यो ईभी पहिलो पटक यस महिनाको सीईएस २०२५ प्रदर्शनीमा लस भेगासमा देखाइएको हो।
यो एरोडाइनामिक कार कार्बन फाइबर शीट मोल्डिङ कम्पाउन्ड (सीएफ एसएमसी) बाट निर्माण गरिएको छ, जसमा काटिएको कार्बन फाइबर र थर्मोसेटिङ रेजिन मिश्रण गरिएको हुन्छ। कारको डिजाइनमा हुड, ड्यास, छाना, र पछाडिको भागमा चारवटा सौर्य प्यानल समावेश गरिएको लाइभसाइन्सले उल्लेख गरेको छ।
एप्टेराका प्रतिनिधिहरूले यो सामग्रीले हरेक सवारी साधन निर्माणको जटिलता घटाउने बताएका छन्। यो डिजाइनले परम्परागत ईभीहरूको तुलनामा दश गुणा कम पार्टपुर्जाहरू प्रयोग गर्छ, र च्यासिसका लागि मुख्य ६ वटा मात्र कम्पोनेन्ट आवश्यक पर्छ।
यसले सवारीलाई हल्का र ऊर्जा-कुशल बनाउँछ, साथै एरोडाइनामिक रेजिस्टेन्समा ५० प्रतिशत कमी ल्याउँछ। यो सवारीले १०० वाट-आवर प्रति माइल ऊर्जा खपत गर्छ, जुन १ माइल (१.६ किलोमिटर) यात्रा गर्न लाग्ने ऊर्जा मापन हो।
तुलनाका लागि ईभी डाटाबेसका अनुसार टेस्ला मोडल एस (२०२२ मा सार्वजनिक) ले मध्यम मौसममा सहरमा १९४ वाट आवर प्रतिमाइल प्रतिमाइल र राजमार्गमा २८८ प्रतिमाइल ऊर्जा खपत गर्छ।
४० माइल सौर्य ऊर्जा र ४०० माइल बिजुलीबाट गरी ४४० माइलको अधिकतम दायरा यात्रा गर्न सकिने एप्टेरा ईभीले हाल उत्पादनमा रहेका लामो दायराका सवारीहरूलाई समेत उछिन्ने सम्भावना रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।
ईभी डाटाबेसका अनुसार मर्सडिज बेञ्ज ईक्यूएस ४५० प्लसको अधिकतम दायरा ४२५ माइल (६८४ किलोमिटर) छ, जसलाई ल्युसिड एयर ग्राण्ड टुरिङले ४१० माइल (६६० किलोमिटर) सम्म पछ्याएको छ।
ईभीमा सौर्य ऊर्जा उपयोग गर्नु नयाँ कुरा होइन। मर्सिडिज बेञ्जले २०२४ को नोभेम्बरमा यस्तो नयाँ प्रकारको सौर्य पेन्ट प्रस्तुत गरेको थियो, जसले राम्रो प्रकाशमा वार्षिक ७,५०० माइल (१२,००० किलोमिटर) सम्म ईभी चलाउन सक्ने क्षमता दिन्छ।
एप्टेराले आफ्नो नयाँ ईभी कहिले सार्वजनिक गर्ने हो भन्ने अझै स्पष्ट छैन। तर कम्पनीले सीईएस २०२५ मा इलेक्ट्रोनिक्स कम्पनी एलजीसँग सम्झौता गरेको छ। एलजीले २०३१ सम्मका लागि सिलिन्ड्रिकल ब्याट्री सेलहरू प्रदान गर्नेछ, जसले उत्पादन वृद्धि गर्न सहयोग गर्नेछ।
प्रकाशित: ६ माघ २०८१, आईतवार