Technology Khabar २७ पुष २०८१, शनिबार
काठमाडौं ।
संसारको सबैभन्दा धनी व्यक्ति बन्ने बाटो सजिलो नभएको र इलन मस्कले उक्त बाटो कसरी तय गरे भन्ने विवरण यहाँ प्रस्तुत गरिएको छ।
डोनाल्ड ट्रम्पको अभियानलाई आर्थिक सहयोग गरेपछि र अमेरिकी राष्ट्रपति–निर्वाचित प्रमुख सहयोगीहरू मध्ये एक बनेपछि, इलन मस्कले जर्मनीमा अति दक्षिणपन्थीहरूलाई समर्थन गर्नेदेखि बेलायती प्रधानमन्त्रीलाई आक्रमण गर्नेसम्म जस्ता युरोपेली राजनीतिमा बढ्दो संलग्नता बढाइरहेको देखिएको छ।
फोर्ब्सका अनुसार ४२१.२ बिलियन अमेरिकी डलर (४०३.३ बिलियन युरो) को सम्पत्तिका साथ मस्क संसारको सबैभन्दा धनी व्यक्ति हुन्, तर दक्षिण अफ्रिकी उद्यमीका लागि यहाँसम्मको यात्रा भने सजिलो नभएको उल्लेख गरिएको छ।
मस्कले बाटोमा धेरै कठिनाइहरू झेल्नु परेको थियो।
टेस्ला र स्पेसएक्स जस्ता कम्पनीहरूको नेतृत्वमा हुँदाहुँदै पनि, उनी धेरै पटक आफ्नै उद्यमबाट हटाइएका थिए, रकेट विफलताहरू पनि धेरै भएका थिए र उनको विद्युतीय सवारीको युग साँच्चै फलदायक हुनु अघि निकै ढिलो सुरुवात भएको थियो।
ईलन मस्कको क्यारियरलाई आधार दिने असफलता र सफलताहरूको बारेमा टेलिग्राफले रिपोर्ट तयार पारेको रिपोर्ट हेरौं।
प्रारम्भिक वर्षहरू
ईलन मस्कको जन्म सन् १९७१ जुन २८ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो।
मस्कले आफ्नो पहिलो व्यवसायिक उद्यम १२ वर्षको उमेरमा सुरु गरेका थिए। तब उनले पीसी र अफिस टेक्नोलोजी म्यागजिनलाई ५०० अमेरिकी डलर (४६० यूरो) मा पीसी फाइटिङ्ग गेम ब्लास्टारको कोड बिक्री गरेका थिए।
“यो एक मामूली खेल थियो, यद्यपि फ्ल्यापी बर्ड भन्दा राम्रो थियो” मस्कको भनाई रहेको छ।
दक्षिण अफ्रिकाको हाई स्कूलबाट स्नातक गरेपछि, उनी क्यानडामा सरेका थिए जहाँ उनले ओन्टारियो स्थित किंग्स्टनको क्वीन्स युनिभर्सिटी (विश्वविद्यालय) मा दुई वर्ष अध्ययन गरे।
उनले अमेरिकाको पेन्सल्भानिया विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गर्दै भौतिकशास्त्र र अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए।
पेन्सलभानियामा विद्यार्थी हुँदा भाडा तिर्नका लागि मस्क र एक सहपाठीले १० शयन कक्षको घर भाडामा लिए र यसलाई नाइट क्लबमा परिणत गरेका थिए।
त्यसपछि मस्कले स्ट्यानफोर्ड युनिभर्सिटीमा डक्टरेटको लागि भर्ना गरेका थिए। उक्त कार्यक्रम सुरु भएको दुई दिनपछि उनले अध्ययन छोडेर डट–कम बबलमा काम गर्ने निर्णय गरे।
मस्कको धनको शुरुवात
त्यसपछि मस्कले आफ्नो भाइ किम्बलसँग मिलेर सन् १९९५ मा जिप२ को स्थापना गरेका थिए। मस्कको यो पहिलो उद्यमले समाचारपत्रहरूको लागि अनलाइन शहर गाइड सफ्टवेयर प्रदान गरेको थियो।
पैसा नहुँदा मस्क अफिसमा बस्दै आएका थिए। व्यापारको सुरुवातसँगै कम्प्याकले ३०० मिलियन अमेरिकी डलर (२७८ मिलियन यूरो) को एक सम्झौतामा जिप२ को अधिग्रहण गर्यो। सन् १९९९ मा मस्कले एक्स डट कम नामक अनलाइन बैंकिङ कम्पनी लन्च गरे।
एक वर्ष पछि एक्स डट कम पीटर थियलद्वारा स्थापित वित्तीय स्टार्टअप कन्फिनिटीसँग मर्ज भयो र पेपाल गठन भयो।
त्यसपछि ईलनलाई पेपालको सीईओ नियुक्त गरिएको भए तापनि यो लामो समय नटिकेको यूरोन्यूजले लेखेको टेलिग्राफले रिपोर्ट गरेको छ।
ब्रान्डिङ र माइक्रोम्यानेजमेन्टमा धेरै असहमति भएपछि मस्कलाई सन् २००० मा अष्ट्रेलियामा छुट्टीमा बस्दा पेपालबाट निकालिएको थियो। ‘बिदाको समस्या यही हो’ उनले भने।
यद्यपि उनको अझै पनि पेपालमा हिस्सेदारी थियो र ईबेले सन् २००२ मा कम्पनी किनेसँगै मस्कले १६५ मिलियन अमेरिकी डलर (१५० मिलियन यूरो) प्राप्त गर्न सफल भएका थिए।
“आउट अफ दिस वर्ल्ड”
पेपालको १०० मिलियन अमेरिकी डलरसँग उनले सन् २००२ मा स्पेसएक्स नामक स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कम्पनीको स्थापना गरे। उनको लक्ष्य अन्तरिक्ष उडान १० गुणा सस्तो बनाउने थियो।
आलोचकहरूलाई गलत सावित गर्दै स्पेसएक्सले सन् २००४ को उत्तरार्धमा ड्र्यागन स्पेस क्याप्सूल विकास गर्न थालेको थियो। “पफ द म्याजिक ड्र्यागन” गीतको सन्दर्भ र उनले यो गर्न नसक्ने भनेर बोल्नेहरूको लागि प्रहारको रूपमा यसलाई ड्र्यागन नाम दिइएको थियो।
सन् २०१० मा अन्तरिक्ष यानले आफ्नो पहिलो यात्रा गर्दै अर्बिट (कक्षा)बाट सफलतापूर्वक फर्कने पहिलो व्यावसायिक रूपमा निर्मित र सञ्चालित अन्तरिक्ष यान बन्न सफल भएको थियो।
त्यसैगरी मस्कले पृथ्वीमा पनि कदम चालिरहेका थिए।
सन् २००४ मा उनले इलेक्ट्रिक कार कम्पनी टेस्लामा लगानी गर्न थाले।
त्यहाँ उनले सक्रिय भूमिका लिए र पहिलो अल–इलेक्ट्रिक कार ‘रोडस्टर’ विकास गर्न मद्दत गरे। सन् २००६ मा मस्क टेस्लाको अध्यक्षको रूपमा नियुक्त भएका थिए।
यस समयमा, उनले ऊर्जा कम्पनी सोलारसिटीको विचार अघि ल्याउँदै उनले सन् २००६ मा आफ्ना भाईहरूलाई नियुक्त गरेका थिए।
टेस्लालेपछि उक्त कम्पनीलाई २.६ बिलियन अमेरिकी डलर (२.३ बिलियन युरो) को सम्झौतामा किनेको उल्लेख गरिएको छ। सन् २००७ मा मस्कले टेस्लाको बोर्डरूममा कू गर्दै सीईओको रूपमा मार्टिन एबरहार्डलाई हटाएका थिए।
एक वर्षपछि, वित्तीय संकटको समयमा टेस्लाले दिवालियापनबाट बच्नको लागि ४० मिलियन अमेरिकी डलर (३६ मिलियन युरो) प्राप्त गरेको उल्लेख छ जुन धेरै लगानीकर्ताहरू र मस्कको व्यक्तिगत सम्पत्तिबाट उठाइएको थियो। त्यसपछि मस्कलाई कम्पनीको सीईओ नाम दिइएको थियो।
तर स्पेसएक्स, टेस्ला, सोलारसिटीले राम्रो काम नगरेको हुनाले पैसा गुमाइरहेका थिए। मस्क व्यक्तिगत ऋणमा बाँचेका थिए।
यद्यपि, सन् २००८ को डिसेम्बरमा स्पेसएक्सले अन्तरिक्षमा आपूर्तिहरू पुर्याउन नासासँग १.५ बिलियन अमेरिकी डलर (१.३ बिलियन यूरो) सम्झौता हात पार्न सफल भएको थियो।
यसैबीच टेस्लाले धेरै बाहिरी लगानीकर्ताहरूलाई सुरक्षित गर्ने सफल हुँदै सन् २०१० मा प्रारम्भिक सार्वजनिक प्रस्ताव राखेर २२६ मिलियन अमेरिकी डलर (२०९ मिलियन यूरो) उठाएको थियो।
यस समयमा, स्पेसएक्सले धेरै रेकर्डहरू स्थापित गर्यो र अन्तर्राष्ट्रिय स्पेस स्टेशनलाई धेरै पटक पुनः आपूर्ति गर्यो।
कम्पनीले स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट ‘फाल्कन ९’ पनि निर्माण गर्न सफल भएको थियो।
सन् २०२० मा, स्पेसएक्सले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा लन्च गर्न नासासँग साझेदारी गर्यो र कम्पनीले आफ्नो पहिलो अपरेशनल ह्यूम्यान स्पेसफ्लाइटमा चार अन्तरिक्ष यात्रीहरूलाई आईएसएस मा पठाएको थियो।
सोही वर्षमा, टेस्ला एस एन्ड पी ५०० मा सामेल भएको उल्लेख छ।
त्यस यता स्पेसएक्सले नासाको कार्यक्रमको एक भागको रूपमा नौ चालक दल मिसनहरू लन्च गरेको छ।
मस्कका अन्य व्यवसायिक उद्यमहरू
त्यसैगरी, मस्कले अन्य विचारहरू पनि पछ्याएका थिए।
सन् २०१३ मा उनले हाई–स्पिड हाइपरलूप ट्रेनको बारेमा एउटा ह्वाईट पेपर प्रकाशित गरेका थिए जसले सैद्धान्तिक रूपमा लस एन्जलसबाट सान फ्रान्सिस्कोसम्म ३० मिनेटमा यात्रुहरूलाई ढुवानी गर्न सक्ने उल्लेख छ।
सन् २०१५ मा, मस्कले ओपनएआईको सह–स्थापना गरे। उक्त गैर–लाभकारी अनुसन्धान कम्पनीले मानवताका लागि कृत्रिम बुद्धिमताबाट फाइदाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
उनले पछि टेस्लासँगको विवादबाट बच्न बोर्ड छोडेका थिए जसले सेल्फ ड्राइभिङ कारहरूको लागि आफ्नै एआई निर्माण गरिरहेको छ।
यो कम्पनीले एआई टुल्सको नयाँ युगको सुरुवात गर्दै च्याटजीपीटी सिर्जना पनि गरेको छ।
सन् २०१६ मा, मस्कले बोरिङ कम्पनी सुरु गरे जसले उच्च गतिको यात्राको लागि भूमिगत र शहर वरपर दुवै सुरुङहरूको नेटवर्क निर्माण गर्ने लक्ष्य राखेको छ।
सन् २०१७ मा, मस्कले न्यूरालिङ्क स्थापना गरे। यस कम्पनीले मानव मस्तिष्क भित्र प्रत्यारोपण गर्न उपकरणहरू विकास गर्दछ।
सन् २०२४ को प्रारम्भमा, पहिलो बिरामी नोल्याण्ड अर्बागले मस्तिष्क प्रत्यारोपण प्राप्त गरे जसले उनलाई आफ्नो दिमाग प्रयोग गरेर अनलाइन चेस खेल्न सक्षम बनाएको उल्लेख छ।
मस्कले सन् २०२२ मा ४४ बिलियन डलर (४१ बिलियन यूरो) मा ट्विटर किनेका थिए भने पछि प्लेटफर्मलाई एक्सको रूपमा पुनः ब्रान्ड गर्दै यसको कन्टेन्ट मोडरेसनमा सुधार गर्दै र आफ्नो राजनीतिक विचारहरू फैलाउन प्लेटफर्म प्रयोग गरे।
मस्कले प्लेटफर्ममा आफ्ना पोष्टहरू बढाउन एक्सको एल्गोरिदम परिमार्जन गरेको हुन सक्ने अनुसन्धानले खुलासा गरेको छ।
व्यक्तिगत जीवन
सन् २००८ मा मस्कले आफ्नी तत्कालीन पत्नी जस्टिनसँग सम्बन्धविच्छेद गरेका थिए। उनीहरूको पहिलो छोरा १० हप्ताको हुँदा उनको सडेन इनफ्यान्ट डेथ सिन्ड्रोम (एसआईडीएस) को कारण मृत्यु भएको थियो।
त्यसपछि दम्पतीले जुम्ल्याहा र तीन छोराहरू जन्माएका थिए।
सन् २०२० मा मस्क र गायक ग्रिम्सले एउटा छोरा जन्माए र उनको नाम X Æ A-12 वा छोटकरीमा एक्स राखे।
सन् २०२१ मा उनको ग्रिम्ससँग एक छोरी भयो र छोरीको नाम वाई राखियो।
मस्कले सन् २०२१ मा द्रुत रूपमा घट्दो जन्मदर “सभ्यताका लागि सबैभन्दा ठूलो जोखिम मध्ये एक हो” भनी बताए।
“म यसलाई पर्याप्त जोड दिन सक्दिन, त्यहाँ पर्याप्त मानिसहरू छैनन्” मस्कले घोषणा गरे।
मस्कको अहिले कम्तिमा १२ जना छोराछोरी छन्, जसमा उनको कम्पनी न्यूरालिङ्कका कार्यकारी पनि छन्।
“मेरा धेरै बच्चाहरू छन् र म अरूलाई पनि धेरै बच्चाहरू जन्माउन प्रोत्साहन गर्छु” उनले भने।
समस्याहरू
मस्कले विवादास्पद टिप्पणी गरेका छन्। सन् २०१८ मा उनले थाइल्याण्डको गुफामा फसेका १२ युवाहरू र उनीहरूका फुटबल प्रशिक्षकलाई उद्धार गर्न पनडुब्बी निर्माण गर्ने प्रस्ताव गरे।
एक बेलायती गोताखोरले मस्कको कार्य पीआर स्टन्ट भएको बताए।
जवाफमा, मस्कले गोताखोरलाई ट्विटर (अहिले एक्स) मा “पेडो” भनेका थिए।
उनले सामाजिक सञ्जालमा कोभिड–१९ को महामारीबारे धेरै विवादित दाबी पनि गरेका छन्। उनले सुरुमा कोभिड–१९ लाई “पागलपन” भनि उल्लेख गरेको र बच्चाहरू भाइरसबाट “अनिवार्य रूपमा प्रतिरक्षित” हुन्छन् भनेर बताएका थिए।
मस्कले सन् २०१८ मा ट्विटरमा “फाइनान्सिङ सेक्योर्ड” भन्दै ४२० अमेरिकी डलर (३८६ यूरो) प्रति सेयरमा टेस्ला निजी लिने विचार गरेको भनेर बताएपछि अधिकारीहरूसँग समस्यामा परेका थिए।
सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनले उनीविरुद्ध “झूटा र भ्रामक बयान” गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
मस्कले एसईसीसँग सम्झौता गर्दै उनले र टेस्लाले प्रत्येकले २० मिलियन डलर (१८ मिलियन यूरो) जरिवाना तिरेका थिए।
टेस्लालाई मस्कको सञ्चारको निरीक्षण गर्न समिति नियुक्त गर्न पनि आदेश दिइएको थियो।
अर्बपति विवादको लागि पनि अपरिचित छैनन् र उनका कम्पनीहरू धेरै मुद्दामा फसेका छन्।
ब्राजिलका न्यायाधीशसँग गलत जानकारीको कारण लामो समयदेखि चलिरहेको विवादको बीचमा गत वर्ष उनले ब्राजिलमा आफ्नो एक्स प्लेटफर्मको अस्थायी निलम्बनको सामना गरे। मस्कले न्यायाधीश, अलेक्जेन्डर डे मोरेसलाई “दुष्ट तानाशाह” भनेका थिए।
मस्कले पेन्सिल्भेनियामा भएको अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको एक हत्या प्रयास पछि ट्रम्पलाई समर्थन गर्दै आफ्नो राजनीतिक विचारहरूको बारेमा खुल्ला रुपमा बोल्न थालेका छन्।
सेन्टर अगेन्स्ट डिजिटल हेट (सीसीडीएच) को अनुसार, अमेरिकी चुनावको समयमा उनका पोस्टहरूले अरबौं भ्यूजहरू प्राप्त गरेका थिए भने तिनीहरूमध्ये केहीले झूटा वा भ्रामक दावीहरू प्रचार गरेको उल्लेख छ। मस्कले पदभार ग्रहण गरेदेखि एक्समा सीसीडीएचले हेटस्पिचको बारेमा व्यापक रूपमा रिपोर्ट गिरेको छ।
मस्कले सन् २०२३ मा संगठनलाई “वास्तवमै खराब” भनि बताएको र उनीहरूले एक्समा परिवर्तनहरूको बारेमा रिपोर्ट गरेपछि उनीहरूलाई मुद्दा हालिएको उल्लेख छ।
उनले जर्मनीको फार–राइट अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीलाई समर्थन गरेर र बेलायतका प्रधानमन्त्री केयर स्टाररमाथि गरेको आक्रमणका कारण युरोपमा विवाद ल्याएका छन्।
प्रकाशित: २७ पुष २०८१, शनिबार