सामाजिक सञ्जालको बेथिति नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी हुँदैछ: सञ्चारमन्त्री गुरुङ

Technology Khabar २६ पुष २०८१, शुक्रबार

सामाजिक सञ्जालको बेथिति नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी हुँदैछ: सञ्चारमन्त्री गुरुङ
सञ्चार मन्त्री गुरुङ। फाइल तस्बिर।
Global IME Bank

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन्। मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए।

युनाइटेड क्लब पोखराद्वारा आयोजित १३ औं संस्करणको पोखरा महोत्सवको बिहीबार पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए।

उनले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उल्लेख गरे। देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको उनको भनाइ थियो।

पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरुरी भएको उल्लेख गर्दै मन्त्री गुरुङले भने, “पर्यटकीय राजधानीका रूपना आवश्यक पर्ने पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारको ध्यान जान जरुरी छ।

गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रूपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवर्धन गर्न जरुरी भएको बताए। पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उनले यहाँका तालहरूको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरुरी भएको बताए।

पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिए। पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, आइटी पार्क, सभाहललगायत पूर्वाधार बनाउनुपर्ने उनले बताए। रासस

Sajilo Visa

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया