सिरी भ्वाइस असिस्टेन्टबाट संकलित डाटा बिक्री नगरेको एप्पलको दावी

Technology Khabar २६ पुष २०८१, शुक्रबार

सिरी भ्वाइस असिस्टेन्टबाट संकलित डाटा बिक्री नगरेको एप्पलको दावी
Global IME Bank

काठमाडौं ।

आफूले कहिल्यै आफ्ना सिरी भ्वाइस असिस्टेन्टबाट सङ्कलन गरिएका डाटाहरू बिक्री नगरेको र तिनलाई मार्केटिङ प्रोफाइल बनाउन पनि प्रयोग नगरेको एप्पलले बुधबार स्पष्ट पारेको छ । यो घोषणा त्यस्तो कम्पनीले आरोप खेपेको मुद्दा सुल्झाएपछि केही दिनमै आएको हो।

आईफोन निर्माता एप्पलले गत हप्ता ९५ मिलियन डलर तिरेर एउटा क्लास एक्शन मुद्दा समाधान गरेको थियो। उक्त मुद्दामा प्रयोगकर्ताले अनिच्छुक रूपमा सिरी सक्रिय गरेपछि एप्पलले उनीहरूको निजी कुराकानी रेकर्ड गरेको र विज्ञापनदाताहरू जस्ता तेस्रो पक्षलाई ती जानकारी उपलब्ध गराएको आरोप लगाइएको थियो।

सामान्यतया भ्वाइस असिस्टेन्टहरूले “हे, सिरी” जस्ता “हट वर्ड्स” सुनेपछि प्रतिक्रिया जनाउँछन्।

रोयटर्सका अनुसार एप्पलले ती दावीहरू अस्वीकार गरेको थियो र गत हप्ता भएको समझदारीमा ती आरोप स्वीकार गरेको थिएन। यस समझदारीअन्तर्गत आईफोन र एप्पल वाचजस्ता सिरी-सक्षम उपकरणहरू भएका करोडौं प्रयोगकर्ताहरूले प्रति उपकरण प्रति २० डलरसम्म पाउन सक्छन्।

“एप्पलले कहिल्यै सिरी डाटालाई मार्केटिङ प्रोफाइल बनाउन प्रयोग गरेको छैन, कहिल्यै विज्ञापनका लागि उपलब्ध गराएको छैन, र कहिल्यै कसैलाई कुनै प्रयोजनका लागि बिक्री गरेको छैन,” एप्पलले बुधबार भनेको छ।

यस्तै प्रकृतिको अर्को मुद्दा गुगलको भ्वाइस असिस्टेन्ट प्रयोगकर्ताहरूको तर्फबाट सान होजे, क्यालिफोर्निया संघीय अदालतमा विचाराधीन छ। यस मुद्दामा पनि एप्पलको मुद्दामा संलग्न उही कानून फर्महरूले प्रतिनिधित्व गरिरहेका रोयटर्सले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया