Technology Khabar २६ पुष २०८१, शुक्रबार
काठमाडौं ।
स्पेसएक्सको स्टारशिपले आगामी हप्ताको सुरुमा सातौं उडान गर्ने भएको छ। यसअद्घि यो उडानका लागि तय गरिएको सबै योजना अनुसार काम भएमा यो सम्भव हुने बुझिएको छ।
स्पेसएक्सले बुधबार (जनवरी ८) घोषणा गरे अनुसार स्टारशिपको सातौं उडानका लागि सोमबार (जनवरी १३) लक्ष्य गरिएको छ। यो ४०० फिट अग्लो (१२२ मिटर) र पूर्ण रूपमा पुन: प्रयोग गर्न सकिने मेगारकेट चन्द्रमा र मंगल ग्रहमा मानव बस्ती बसाउन डिजाइन गरिएको छ।
स्टारशिप सोमबार साँझ ५ बजे ईएसटी (२२:०० जीएमटी) मा दक्षिण टेक्सासस्थित स्पेसएक्सको निर्माण र प्रक्षेपण स्थल स्टारबेसबाट प्रक्षेपण हुने तालिका छ। यो उडान प्रत्यक्ष हेर्न सकिनेछ; स्पेसएक्सले प्रक्षेपणको करिब ३५ मिनेट अघि वेबकास्ट सुरु गर्नेछ।
स्पेस डटकमका अनुसार हालसम्म स्टारशिपले दुई पटक २०२३ मा र गत वर्ष मार्च, जून, अक्टोबर र नोभेम्बरमा गरी ६ पटक उडान गरेको छ।
अक्टोबरको मिशनमा स्टारशिपको सुपर हेभी बूस्टरलाई स्टारबेसको प्रक्षेपण टावरले समात्ते अभूतपूर्व प्रयास गरिएको थियो जसलाई स्पेसएक्सले सातौं उडानमा पनि दोहोर्याउन प्रयास गर्नेछ। (नोभेम्बरमा छैटौं उडानमा पनि यो योजना थियो, तर टावरसँगको सञ्चार समस्याका कारण त्यो प्रयास रोकिएको थियो।)
“स्टारशिप” वा “शिप”का नामले चिनिने स्टारशिपको माथिल्लो खण्ड १६५ फिट (५० मिटर) अग्लो छ। यसलाई सोमबारको उडानमा भारतीय महासागरमा सहज अवतरण (सफ्ट स्प्ल्यासडाउन) गराउने तालिका छ। यस्तो प्रयास यसका तीन पछिल्ला प्रक्षेपणहरूमा भएको थियो।
स्पेसएक्सले आगामी मिशनमा केही नयाँ प्रयासहरू गर्ने योजना पनि बनाएको छ। पहिलो पटक, स्टारशिपले अन्तरिक्षमा १० वटा परीक्षण उपग्रहहरू, “नेक्स्ट-जेनरेशन स्टारलिंक उपग्रहहरूको आकार र तौलसँग मिल्दोजुल्दो, उपग्रह तैनाथ मिशनको पहिलो अभ्यासको रूपमा पेलोडहरू तैनाथ गर्नेछ,” स्पेसएक्सले सातौं उडानको विवरणमा लेखेको स्पेस डटकमले उल्लेख गरेको छ। (स्टारलिंक स्पेसएक्सको ब्रोडब्यान्ड मेगाकन्ष्टेलेसन हो, जसमा ४०,००० भन्दा बढी उपग्रहहरू समावेश हुन सक्ने सम्भावना छ।)
“स्टारलिंकका परीक्षण उपग्रहहरू स्टारशिपको समान सबअर्बिटल मार्गमा रहनेछन्, भारतीय महासागरमा स्प्ल्यासडाउन लक्ष्य राखिएको छ,” स्पेसएक्सले थपेको छ।
प्रकाशित: २६ पुष २०८१, शुक्रबार