Technology Khabar २५ पुष २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकामा प्रचलित र धेरै घरहरूमा प्रयोग गरिने टीपी लिंक राउटरहरू साइबर सुरक्षा जोखिमका कारण प्रतिबन्धमा पर्न सक्ने सम्भावना रहेको छ। अमेजनमा लोकप्रिय यी राउटरहरू चिनियाँ हस्तक्षेपको सम्भावित जोखिमको कारण छानबिनमा परेका छन्। अमेरिकी वाणिज्य, रक्षा र न्याय विभागजस्ता संघीय निकायहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।
द इण्डिपेण्डेण्टका अनुसार यो कम्पनी क्यालिफोर्नियामा आधारित भए पनि यसको स्थापना चीनमा भएको हो। कम्पनीले भियतनाममा उत्पादन गरिएका यसको राउटरहरू सुरक्षित रहेको बताएको छ। अमेरिकी वाणिज्य विभागले कम्पनीलाई थप जानकारी दिनका लागि पत्र पठाएको छ।
गत अक्टोबरमा माइक्रोसफ्टले गरेको एक विश्लेषणले चिनियाँ ह्याकर समूहले हजारौं टीपी लिंक राउटरलाई ह्याक गरी पश्चिमी संस्थाहरूलाई निशाना बनाएको खुलासा गरेको थियो।
यसमा थिंक ट्यांक, सरकारी निकाय, गैर-नाफामूलक संस्था र रक्षा आपूर्तिकर्ताजस्ता संस्थाहरू सामेल छन्। यो पहिलोपटक होइन। यसअघि पनि अमेरिकी सांसदहरूले टीपी लिंकका गतिविधिहरूको जाँच गर्न बाइडेन प्रशासनलाई दबाब दिएका थिए।
टीपी लिंक राउटरहरूले अमेरिकी बजारको ६५ प्रतिशत हिस्सा ओगटेको रिपोर्ट गरिए पनि कम्पनीले भने १२ प्रतिशत मात्र रहेको दावी गरेको छ। यदि राष्ट्रिय सुरक्षामा खतरा देखियो भने नयाँ वर्षमा ट्रम्प प्रशासनले यसमा प्रतिबन्ध लगाउन सक्ने सम्भावना छ।
यद्यपि यो निर्णय अझै अनिश्चित छ। कम्पनीका प्रवक्ताले आफ्नो सुरक्षा प्रदर्शन अन्य प्रमुख निर्माता जस्तै रहेको र सार्वजनिक कमजोरी डाटा आधारमा तुलना गर्न सकिने बताएका छन्।
चिनियाँ उपकरणहरूप्रति अमेरिकीहरुको डर नयाँ कुरा होइन। गत वर्ष राष्ट्रपति जो बाइडेनले टिकटक प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर गरेका थिए जसअनुसार यसको अभिभावक कम्पनी बाइटडान्सले आगामी जनवरी १९ सम्म बिक्री नगरे टिकटक प्रतिबन्धमा पर्न सक्छ।
बाइटडान्सले सर्वोच्च अदालतमा अपील गरिसकेको छ। ट्रम्पले पनि अमेरिकी व्यवसायलाई जोगाउन चीनलाई आर्थिक खतरा भन्दै थप शुल्क लगाउने प्रस्ताव गरेका द इण्डिपेण्डेण्टले उल्लेख गरेको छ।
प्रकाशित: २५ पुष २०८१, बिहीबार