Technology Khabar २४ पुष २०८१, बुधबार
काठमाडौं ।
माइक्रोसफ्टले भारतमा आफ्नो कृत्रिम बुद्धिमता (एआई) र क्लाउड सेवाहरू विस्तार गर्न ३ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ। माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले मंगलबार बेंगलुरुमा आयोजित एक कार्यक्रममा घोषणा गर्दै कम्पनीले भारतमा थप १ करोड मानिसलाई एआई सम्बन्धी प्रशिक्षण दिने पनि बताए।
“आज हामीले घोषणा गरेका पूर्वाधार र सीप विकासका लगानीहरूले भारतलाई एआई-प्रथम बनाउन हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ, र यसले देशभरका मानिसहरू र संस्थाहरूलाई व्यापक लाभ पुर्याउनेछ,” नाडेला ले भने। “भारतमा एआई को प्रसार दर रोमाञ्चक छ।”
टेकक्रञ्चका अनुसार भारत अमेरिकी प्रविधि कम्पनीहरूको लागि एक प्रमुख विदेशी बजार बनेको छ। यी कम्पनीहरूले करोडौं प्रयोगकर्तालाई सेवा दिने व्यवसायलाई आकर्षित गर्न दक्षिण एशियाली बजारमा अर्बौं लगानी गरेका छन्।
हालैका त्रैमासिकहरूमा प्रतिस्पर्धा तीव्र भएको छ, जहाँ माइक्रोसफ्टले एआईको नयाँ क्षमताहरू थपेर आफ्ना सेवाहरूलाई तीव्र रूपमा उन्नति गरिरहेको छ। सन् २०२३ मा ई-कमर्स समूह अमेजनले पनि सन् २०३० सम्ममा आफ्नो भारतीय व्यवसायमा १२.७ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको थियो।
भारतमा शीर्ष क्लाउड र एआई प्रदायकमध्ये एक माइक्रोसफ्टको हाल तीनवटा डाटासेन्टर क्षेत्रहरू सञ्चालनमा छ र अर्को वर्ष चौथो क्षेत्र सञ्चालनमा ल्याउने योजना बनाएको टेकक्रञ्चले उल्लेख गरेको छ।
३ अर्ब डलर लगानीले एआई स्टार्टअपहरू र अनुसन्धान समुदायलाई सेवा दिनको लागि एउटा उन्नत एआई कम्प्युटिङ इकोसिस्टम विकास गर्न प्रयोग गरिने बताइएको छ।
भारतले विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा बढिरहेको डेभलपर बजारको रूपमा आफ्नो स्थान स्थापित गरेको छ। १ करोड ७० लाखभन्दा बढी भारतीय डेभलपरहरूले माइक्रोसफ्टको गिटहब प्रयोग गर्छन्।
एनभिडियाका सीईओ जेनसन हुआङ र एएमडीका सीईओ लिसा सु जस्ता प्रविधि कार्यकारीहरूले पनि डेभलपरहरूलाई आकर्षित गर्न पछिल्ला महिनाहरूमा भारत भ्रमण गरेका छन्।
माइक्रोसफ्टले भारतका बी२बी स्टार्टअपहरूको समुदाय सासबूमीसँग एआईसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको पनि जनाएको छ। यस सहकार्यको हिस्साको रूपमा दुवैले भारतका साना शहर र गाउँहरूमा उद्यमशीलतालाई प्रवर्द्धन गर्न, र भारतीय एआई र सास स्टार्टअपहरूको लागि थप डेढ अर्ब डलर भेन्चर क्यापिटल लगानी आकर्षित गर्ने लक्ष्य राखेका टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: २४ पुष २०८१, बुधबार